काठमाडौँ:दुनियाँका सबैभन्दा धनी मान्छेहरूमध्येका एक गौतम अदानी बुधबार साँझसम्म हाँसीखुसी नै थिए । त्यही दिन दिउँसो यी भारतीय अर्बपतिको हरित उर्जा कम्पनीले ऋणपत्र बेचेर ६० करोड डलर जम्मा गरेको थियो । एक निकटस्थका अनुसार अहमदाबाद सहरमा सुत्नुअघि अदानीले श्रीमतीसँग एकछिन तास खेलेका थिए ।
तर, बिहानको करिब ३ बजेतिर उनका एक सहकर्मीले उनलाई छक्क पार्ने समाचार सुनाए– अमेरिकाले उनलाई र उनका कयौँ सहयोगीलाई ठगीको अभियोग लगाएको छ ।
केही मिनेटमै अदानी ग्रूपका कार्यकारीहरू कन्फ्रेन्स कलमा अनि त्यसपछि ग्रूपको मुख्यालयमा भेला भए । न्युयोर्कस्थित संघीय अभियोजकहरूले भारतीय सरकारी अधिकारीहरूलाई २५ करोड डलर घुस दिने वाचा गरेको तर अमेरिकी लगानीकर्ताहरूसँग भने आफूहरू घुसविरोधी रहेको भन्दै झुटो बोलेको आरोप लगाएका थिए । यस्तो भ्रष्ट अभ्यासको साइनो अदानीसम्म जोडिन नदिन सहयोगीहरूले उनका लागि ‘द बिग म्यान’ र ‘न्युमेरो उनो’जस्ता सांकेतिक नाम प्रयोग गर्ने गरेको अभियोगमा उल्लेख छ ।
बिहीबार बिहान बाँकी भारत जागिसक्दा पनि अदानी यसबारे विज्ञप्ति जारी गर्नु उचित हुन्छ कि हुँदैन भन्नेमा द्विविधामै थिए । मुम्बईमा सेयरबजार खुलेपछि अदानीका कम्पनीहरूको सेयरमा भारी गिरावट आयो । सो समूहले ६० करोड डलरको ऋणपत्र बेच्ने योजना रद्द ग¥यो । शुक्रबारसम्ममा सो समूहले सबै आरोप अस्वीकार गरेको छ र कानुनी कारबाहीको धम्की दिएको छ ।
६२ वर्षीय अदानी र उनको साम्राज्यमा यसको आगामी असर कस्तो पर्छ, स्पष्ट छैन । आगामी महिनाहरूमा राजनीतिक विवादको सम्भावना छ । सम्भावित सुपुर्दगीका विषयमा पनि खिचातानी हुन सक्छ ।
डोनाल्ड ट्रम्प चाँडै भारतसँग सम्झौता गरेर यो मामिला बन्द गर्ने ठाउँमा पुग्दैछन् । यदि उनले चाहेमा । ट्रम्पको आसपास रहेका प्रमुख हस्तीहरू भारत र अदानी ग्रुपलाई महत्व दिन्छन् । जो चीनको आधिपत्यविरुद्ध लड्न काम लाग्न सक्छन् । यसअघि ट्रम्प परिवारका सदस्यले अदानीको अहमदावादस्थित घर पनि भ्रमण गरेका थिए ।
अदानीविरुद्धको अभियोजनका लागि महिनौँ या वर्षौं लाग्न सक्छ । त्यसको अर्थ हो, कसरी अघि बढ्ने भन्ने कुराको जिम्मा ट्रम्प प्रशासनको काँधमा आउनेछ ।
तर, अहिलेका लागि यसको प्रभाव अदानी समूहमा मात्र सीमित रहने छैन । सम्भवत: यसले अदानीलाई ऋण दिएका विदेशी ब्यांकलाई पनि असर गर्नेछ । विदेशमा अदानीको विस्तारलाई यसले जोखिममा पार्न सक्छ भने अदानीसँग जोडिएका अरु भारतीय कम्पनीको प्रतिष्ठा समेत गिराउन सक्छ ।
‘मलाई लाग्छ, यसले अदानीको विश्वभर फैलिने महत्त्वाकांक्षामा ठूलो असर गर्नेछ,’ सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका रिक रुसो भन्छन्, ‘यस्तो मुद्दाले अमेरिका भारतको उदयलाई धिमा बनाउन चाहन्छ भन्ने भारतमा रहेको चिन्तालाई अझ बढाउन सक्छ ।’
पछिल्ला केही वर्षहरूमा विश्वभरका लगानीकर्ता र ब्यांकहरूले अदानी ग्रूपमा अर्बौं डलर खन्याएका छन् । आज यो समूहको व्यापार बन्दरगाह, हतियारदेखि नवीकरणीय उर्जासम्म फैलिएको छ । भियतनामदेखि इजरायलसम्म उसका परियोजना छन् । चीनको बेल्ट एन्ड रोड इनिसियटिभजस्तै अदानीका परियोजनाहरूलाई भारतको प्रभाव विस्तारको औजारका रूपमा हेर्ने गरिन्छ । उनको सम्पत्ति अहिले ८५ अर्ब डलर छ ।
धनाढ्यहरूको सूचीमा तीव्र गतिमा माथि उक्लेका अदानीले घुसखोरीप्रति शून्य सहनशीलताको नीतिमा जोड दिँदै आएका थिए । तर, जनवरी २०२३ मा हिन्डेनबर्ग नामक सर्ट सेलरले समूहको छविमा सवाल उठाउँदै रिपोर्ट प्रकाशित ग¥यो । लगत्तै कम्पनीको सेयरमा भारी गिरावट आयो । अदानी ग्रूपले ती आरोपको खण्डन गरेको थियो ।
त्यसपछि सेयरमा सुधार आयो । न्युयोर्कमा अभियोग दर्ता भएपछि बुधबार पुन सेयर घटेको छ । अभियोगअनुसार २०२० देखि २०२४ सम्ममा अदानी र उनका कयौँ कर्मचारीले आफ्नो ठगी लुकाएर अमेरिकी लगानीकर्ताहरूबाट करोडौँ डलर उठाए । अदानी ग्रिन इनर्जी लिमिटेडका उच्च पदस्थ कर्मचारीहरूले कथित घुस र ठगी लुकाउने योजनाको विस्तृत पावरपोइन्ट नै बनाएको अभियोजकहरूको दाबी छ ।
अदानीका लागि यो निकै ठूलो झट्का हो, जसलाई उम्किन उनलाई कठिन हुन सक्छ ।
यसले अदानीको वैदेशिक महत्त्वाकांक्षामा पनि धक्का पुग्न सक्छ । यसै पनि केही महिनायता सो समूहले विदेशमा अनेक मुस्किल सामना गरिरहेको छ । बिहीबार केन्याका राष्ट्रपति विलियम रुटोले अदानीलाई दिन लागिएको मुलुकको प्रमुख विमानस्थलको सञ्चालन र ट्रान्समिसन लाइन निर्माणको ठेक्का रद्द गरे ।
श्रीलंकाका नयाँ राष्ट्रपतिले अदानीलाई दिने प्रस्ताव गरिएको वायुउर्जासम्बन्धी परियोजनाबारे पुनर्विचार गर्ने अक्टोबरमा बताएका छन् । बंगलादेशमा यसै महिना बिजुलीको भुक्तानी गर्न बाँकी महसुल ८५ करोड डलर पुगेपछि सो समूहले बिजुली काट्ने धम्की दिएको थियो ।
कम्पनीको उत्तराधिकार हस्तान्तरणको समयसीमा पनि बदलिन सक्छ । जुन अभियोजकहरूले कुन गतिमा काम गर्छन् भन्नेमा निर्भर हुनेछ । उनले ७० वर्षको उमेरमा अवकाश लिने योजना बनाएका छन् । त्यसपछि अदानी समूहको स्वामित्व परिवारका चार सदस्यमा अंशबण्डा गर्ने उनको योजना छ । तीमध्ये सागर अदानीविरुद्ध पनि अमेरिकामा अभियोग लागेको छ ।
यो अभियोगले अदानी समूहको अस्तित्वमै खतरा नल्याए पनि नयाँ पुँजीमा उसको पहुँच रोकिन सक्ने जानकारहरू बताउँछन् ।
यो अभियोगले अमेरिका र भारतबीचको यसअघि नै नाजुक सम्बन्धलाई असर गर्न सक्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सुपुर्दगीको प्रयासलाई विरोध गर्ने सम्भावना छ । पछिल्ला वर्षहरूमा वासिङ्टनले भारतलाई एसियाको प्रमुख सहयोगीका रूपमा फकाउँदै आएको छ । अमेरिकाले अदानीका निकट मित्र मोदीको नेतृत्वमा बढ्दो धार्मिक राष्ट्रवादको कडा आलोचना गरेको छैन ।
गतवर्ष क्यानडाले आफ्नो भूमिमा सिख पृथकतावादी नेताको हत्या गराएको आरोप भारतमाथि लगाएको थियो । अमेरिका भने आफ्नो भूमिमा त्यस्तै हत्या प्रयासको सूचना सर्वाजनिक गर्न निकै हिच्किचाएको थियो ।
चुनावपछि अदानीले ट्रम्पलाई ‘अटुट दृढताको अवतार’ भन्दै बधाई दिए । एसियाकै धनी मुकेश अम्बानीसहित अन्य व्यापारीले केही भनेनन् ।
यसैवर्ष चुनावमा सोचेभन्दा केही राम्रो नतिजा ल्याएको भारतको विपक्षीले अमेरिकामा भएको अभियोजनलाई मोदी र अदानीबीचको षड्यन्त्रको प्रमाणको रूपमा चर्चा गरेको छ । दर्जनौँ सांसदहरूले अदानी समूहमाथि संसदीय छानबिनको माग गरिरहेका छन् । भारतको प्रतिष्ठा दाउमा लागेको उनीहरूको भनाइ छ ।
‘मोदीजी, तपाईंका मित्रले संसारभरि देशको बदनाम गरे,’ आम आदमी पार्टीका नेता सञ्जय सिंहले सामाजिक सञ्जालमा लेखेका छन् ।
हालसम्म प्रधानमन्त्री र उनको सरकार चुप छन् । २०१४ मा सत्तामा आएदेखि मोदीको विकास भन्नु नै अदानीसहितका सीमित अर्बपतिहरूलाई सशक्त पार्नुमा सीमित छ । जसका कारण आसेपासे पुँजीवादको विरोध हुँदै आएको छ । यी दुईको मित्रता दशकौँ पुरानो हो ।
‘ठगीको आरोप लाग्न सुरु भएदेखि जे गर्दै आएका छन्, मोदीले त्यही गर्ने सम्भावना छ,’ विल्सन सेन्टरको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान भन्छन्, ‘सार्वजनिक रूपमा अदानीबारे मौन बस्ने र अदानीसँग आफ्नो सम्बन्धबारे ध्यान खिच्ने कुनै पनि काम नगर्ने ।’
अदानीको यो संकटले भारतलाई लगानीकर्ताको पैसा र भरोसा जित्न पक्कै सहयोग गर्ने छैन । मोदीलाई भारत पुँजीको प्रमुख गन्तव्य बनाउन पनि अवरोध गर्न सक्छ । तैपनि अदानीको विशाल आन्तरिक प्रभाव घट्ने सम्भावना छैन । धेरैका लागि उनी असफल हुनै नसक्नेगरी भीमकाय छन् ।
‘कर्पोरेट गभर्नेन्सको क्षेत्रमा अदानीको छवि निश्चित रूपले प्रभावित हुने छ,’ इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट कोलकाताका प्राध्यापक भीके उन्नी भन्छन्, ‘तर, अहिले त यो आरोप मात्र हो ।’