नयाँदिल्ली : भारतको उत्तर प्रदेश राज्यको सम्भल सहरको मस्जिद सर्वेक्षणका क्रममा झडप हुँदा ४ जनाको ज्यान गएको छ । हिंसात्मक झडपका कारण दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

संघीय सरकारको संरक्षणमा रहेको १६ औं शताब्दीको स्मारक शाही जामा मस्जिदको अदालतको निगरानीमा गरिएको सर्वेक्षणका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

उक्त मस्जिद बनेको स्थानमा पहिले मन्दिर रहेको दाबीसहित गत साता स्थानीय अदालतमा एक निवेदन दर्ता गराइएको थियो । त्यसको केही घण्टामा नै अदालतले सर्वेक्षणका लागि आदेश दिएको थियो । अधिकारीहरूले आइतबार मस्जिदको सर्वेक्षण सुरु गरेसँगै स्थानीयले प्रदर्शन गरेपछि तनाव चर्केको हो ।

घटनापछि सम्भल सहरमा सतर्कता अपनाइएको छ । जिल्ला प्रशासनले नोभेम्बर ३० सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भल सहरमा इन्टरनेट सेवा र विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेश राज्यका अधिकारीहरूले घटनाबारे चारवटा मुद्दा दर्ता गरिएको जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका झडपका भिडियो र तस्बिरहरूमा मस्जिदको वरिपरि चप्पल, इँटा र ढुंगा छरिएका देखिन्छन् । प्रहरीले अनावश्यक रूपमा गोली चलाएको प्रदर्शनकारीको आरोप छ । तर अधिकारीहरूले आरोप अस्वीकार गरेका छन् । ’कसैको ज्यान लिन सक्ने कुनै हतियार प्रयोग गरिएको छैन,’ प्रहरी उपरीक्षक कृष्ण कुमारले हिन्दू पत्रिकासँग भनेका छन् ।

मुगल शासकहरूले शाही जामा मस्जिद निर्माणका लागि त्यहाँका मन्दिरहरू नष्ट गरेको हिन्दू समूहहरूको दाबी छ । यी दाबीसँग सम्बन्धित मुद्दाहरू हाल विभिन्न अदालतमा विचाराधीन छन् । ती मुद्दाविरुद्ध मुस्लिम समूहहरू लडिरहेका छन् ।

मुगल शासक बाबरले सन् १५२० को दशकमा हरिहर मन्दिरलाई ध्वस्त गरेपछि मस्जिद निर्माण गरिएको दाबी गरिएको याचिकामा केही घण्टापछि सर्वेक्षणको आदेश दिइएको थियो । भारतीय जनता पार्टी (भाजापा) द्वारा शासित उत्तर प्रदेशका अधिकारीहरूले सोही दिन मस्जिदको प्रारम्भिक सर्वेक्षण गरेका थिए । तर सर्वेक्षणबारे आफूहरूलाई पूर्वसूचना नदिइएको जनाउँदै सम्भलका मुस्लिम समूहहरू विरोधमा उत्रिएका हुन् । अदालतले हतारमा आदेश दिएको उनीहरूको दाबी छ ।

आइतबार मस्जिदको दोस्रो सर्वेक्षण गरिएको थियो । त्यसक्रममा प्रदर्शनकारीहरूको ठूलो समूह मस्जिदनजिक जम्मा भएर सर्वेक्षण टोलीविरुद्ध नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीको भनाइ छ । प्रहरी अधिकारी औजनेय कुमार सिंहले प्रदर्शनकारीले सर्वेक्षण गर्न नदिने अवस्था आएपछि भीडलाई तितरबितर पार्न अश्रुग्यास र प्लाष्टिकका गोली प्रहार गरिएको भनाइ छ ।

विपक्षी नेताहरूले घटनाका लागि राज्य सरकार जिम्मेवार रहेको बताएका छन् । राजनीतिक फाइदाका लागि हिंसा मच्याइएको उनीहरूको आरोप छ । कंग्रेस नेता राहुल गान्धीले घटनाका लागि भाजपा जिम्मेवार भएको बताए । ’उत्तर प्रदेशको सम्भलमा भर्खरै भएको विवादमा राज्य सरकारको पक्षपाती र हतारपूर्ण रवैया अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै पक्षको कुरा नसुनी प्रशासनको असंवेदनशील कार्यले स्थिति थप तनावपूर्ण बन्छ । यसका लागि भाजपा सरकार प्रत्यक्ष रूपमा जिम्मेवार छ,’ गान्धीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले कानुन हातमा लिने कसैलाई अनुमति नभएको बताएका छन् । घटनाबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको उनको भनाइ छ । इस्लामिक संगठन जमियत उलामा–ए–हिन्दका अध्यक्ष महमूद मदनीले देशका मस्जिदहरू वरपरका विवादले भारतीय कानुनको उल्लंघन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको