जनकपुरधाम :महिनौदेखिको तलब नपाएको भन्दै क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् । क्षिरेश्वरनाथ नगरपालिकाको नगरसभा हुन नसक्दा नगरपालिकामा सेवा प्रवाहमा समस्या हुनुका साथै कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।
तलब पाउन नसकेपछि क्षिरेश्वरनाथका शिक्षकहरुले नगरपालिकाको कार्यालय अगाडी आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् । साउन महिना यताको तलब आफूहरुले पाउन नसकेकाले तलब उपलब्ध गराउनु पर्ने भन्दै आन्दोलित हुनु परेको शिक्षक जितेन्द्र यादवले जानकारी दिए । आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम जारी रह्ने उनले चेतावनी दिए ।
यादवले राजनीतिक खिचातानीका कारण नगरसभा हुन नसक्दा त्यसको शिकार क्षिरेश्वरनाथ नगरपालिकामा विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुलाई हुनु परेको दुखेसो पोखे ।