जनकपुरधाम:नेपालको माटो अस्वस्थ देखिएको छ । यहाँको माटोमा अधिक अम्लीयपन र प्राङ्गारिक पदार्थ कम देखिएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।
यस्तै माटोमा हुनुपर्ने पोषकतत्व, खाद्य तत्वसमेत कम देखिएको छ । नेपालको माटोमा रासायनिक मल प्रयोग, चक्रीय बाली नलगाउँदा र अवैज्ञानिक ढंगले खेती गर्दा माटोको उर्वरा क्षमता कमजोर देखिएको कृषि विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
विभागले आगामी बिहीबार (५ डिसेम्बर) मनाउन लागेको ११औं विश्व माटो दिवसका अवसरमा सार्वजनिक गरेको डिजिटल माटो परीक्षण नतिजा अनुसार नेपालको खेती गरिने जमिनको उर्वराशक्ति अवस्था देखिएको हो ।
विभागले देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षण तथ्यांक विश्लेषण गर्दा खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइएको हो ।
यस्तै ५ प्रतिशत माटोमा क्षारीय र २९ प्रतिशत माटोमात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने विभागले जनाएको छ ।
कृषि विभागले गरेको ‘डिजिटल स्वाइल म्याप’ अनुसार नेपालको माटोमा चाहिने प्राङ्गारिक पदार्थको मात्रा समेत कम पाइएको छ । यसले माटो उत्पादनशील छैन भन्ने देखाउने विभागले जनाएको छ ।
विभागले दिएको जानकारी अनुसार २३ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ । यस्तै ६५ प्रतिशत माटोमा मध्यम र १२ प्रतिशतमा अधिक रहेको पाइएको छ ।
प्राङ्गारिक पदार्थलाई माटोको आधारका रूपमा पनि लिइने गरिन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक छ । तर, नेपालमा अत्यन्तै कम छ ।
नेपालको कृषि विकास रणनीतिले माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।
माटो परीक्षण प्रतिवेदन अनुसार खेती गरिने जमिनको ५ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून, ५८ प्रतिशतमा मध्यम र ३७ प्रतिशतमा अधिक छ । फस्फोरस तत्व तुलनात्मक राम्रो छ जसमा ४ प्रतिशतमा न्यून, १९ प्रतिशतमा मध्यम र ७७ प्रतिशतमा अधिक छ ।
त्यसैगरी पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ३ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ६९ प्रतिशतमा अधिक छ । खाद्य तत्व जति धेरै भयो, उति नै राम्रो हुने विज्ञ बताउँछन् । बाली बिरुवाका लागि आवश्यक सूक्ष्म खाद्यतत्व जिंक, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ ।
नेपालको माटो बिग्रिनुमा पछिल्ला दशक माटोमा रासायनिक मल र विषादीको अधिक प्रयोग भएको कृषि विभागले जनाएको छ ।
विभागका अनुसार रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादी प्रयोग बढ्दै जानु नै माटो उर्वराशक्ति कम हुनुको प्रमुख कारण हो । यस्तै गोबर वा कम्पोष्ट मल, हरियो मल आदि प्रयोग न्यून हुँदा पनि उत्पादन क्षमता ह्रास आइरहेको छ ।
विभागले माटो परीक्षणपछि सार्वजनिक गरेको कारणमा भनेको छ ‘बालीचक्रका आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जाँदा माटोको उर्वराशक्ति कम भएको छ ।’
यस्तै अवैज्ञानिक तरिकाबाट सघन खेती गर्दा पनि माटोमा खाद्य तत्व कम भइरहेको छ । बाली काटिसकेपछि बाँकी अवशेष जमिनबाट पूर्णरूपमा हटाउँदा वा जलाउँदा पनि माटोको क्षमता घटिरहको छ ।
नेपालको भूगोलमा भूक्षय निरन्तर हुने र औद्योगिक प्रदूषणको मात्रा बढ्दा पनि माटोको क्षमतामा ह्रास आएको विभागले जनाएको छ । विभागको अध्ययनले कृषि औजार तथा यन्त्रको अधिकतम् प्रयोगले माटो कडा हुँदा पनि क्षमता घट्ने औंल्याएको छ ।
यस्तै आफ्नो खेतबारीको माटो समय–समयमा जाँच नगराउँदा क्षमताबारे ज्ञान नहुनाले ह्रास आइरहेको विभागको भनाइ छ ।
कृषि विभागका महानिर्देशक जगन्नाथ तिवारीका अनुसार माटोको पोषक तत्व न्यून हुँदै जानु विश्वव्यापी चिन्ताको विषय हो ।
‘माटोको उर्वरापन ह्रास हुँदै जाँदा उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावित खतराप्रति सचेत हुने बेला भइसकेको छ,’ उनी भन्छन् ।
कृषि विभागले बेलाबेला आफ्नो खेतबारीको माटो परीक्षण गराउने, अम्लीय धेरै भएको माटोमा कृषि चुन प्रयोग गर्ने, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ उपयोग गर्नुपर्ने सुझाव दिएको छ ।
यस्तै रासायनिक मल सन्तुलित मात्रामा प्रयोग गर्नुपर्ने, बालीचक्रका आधारमा खेती र कोशेबाली प्रयोग गर्नुपर्ने पनि औंल्याएको छ । बाली काटिसकेपछि बाँकी अवशेषहरू जमिनमा मिसाउन आग्रह गरेको छ ।