जनकपुरधाम : पूर्वराजा पृथ्वीनारायण शाहको नुवाकोटस्थित शेरा दरबारको जग्गा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तात्कालिन स्वकीय सचिव विकेश श्रेष्ठले कब्जा गरी नामसारी गरेको रहस्य खुलेको छ ।

नेपाल एकीकरणपछि बडामहाराजा पृथ्वीनारायण शाहले जाडोका बेला बस्न बनाएको नुवाकोटस्थित शेरा दरबार माओवादी केन्द्रका नेता तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेपछि सरकारी संयन्त्रमा खैलाबैला मचेको छ ।

गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका सदस्यहरुको हदबन्दीभन्दा बढी र स्वर्गीय राजा वीरेन्द्रसहित मारिएका सदस्यहरुको नाममा अचल सम्पत्ति नेपाल ट्रस्टमा ल्याइएको थियो, तर नुवाकोट थानसिंस्थित शेरा दरबार र त्यसले चर्चेको जग्गा भने प्रचण्डको मिलोमतोमा माओवादी नेता श्रेष्ठ र उनका छोराको नाममा खडा गरिएको अन्नपूर्ण फार्मिङ प्रालिको नाममा दर्ता श्रेष्ता कायम भइसकेको पाइएको छ ।

जिल्ला मालपोत कार्यालयको ढड्डामा सो दरवारसहितको जमिन गौरीशंकर फार्मिङबाट अन्नपूर्ण फार्मिङको नाममा कायम भएको देखिन्छ । कम्पनी रजिष्टारको कार्यालयको रेकर्ड अनुसार अन्नपूर्ण फार्मिङ प्रालि विकेश श्रेष्ठ, उनका छोरा मनोबल श्रेष्ठ र अजय सूर्यवंशीको संयुक्त कम्पनीका रुपमा रहेको देखिन्छ ।

यो दरबार तत्कालीन राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाहको भागमा परेको थियो ।

ऐतिहासिक शेरा दरबारको १८४ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएपछि कम्पनीको नाममा लगेर बेच्न लागिएको थियो । कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर व्यक्तिको नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेपछि अहिले मालपोतले जग्गा रोक्का राखेको छ ।

२०७३ सालमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ३ का स्थायी बासिन्दा विकेश श्रेष्ठले अन्नपूर्ण फार्मिङको नाममा दर्ता गराएको थियो । उनी २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । त्यसअघि उनी माओवादी शान्ति प्रक्रियामा आउनुअघिको बहुचर्चित चुनवाङ बैठकबाट निर्वाचित ९५ सदस्यीय केन्द्रीय कमिटीका सदस्य थिए ।

प्रचण्डका स्वकीय सचिवसमेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले भने विकेश श्रेष्ठ अहिले पार्टीको कुनै कमिटीमा आबद्ध नरहेको बताए । उनले पहिलो प्रधानमन्त्रीत्वकालमा शक्ति बस्नेतअन्तर्गत सचिवालयमा काम गरेको र चुनवाङबाट केन्द्रीय सदस्य भए पनि अहिले पार्टीको नेतृत्वमा नरहेको बताए ।

पछिल्लो समय सो जग्गा आफ्नो एकल कम्पनीको नाममा पारेपछि बेच्नका लागि कम्पनीबाट व्यक्तिमा लैजान खोज्दा पोल खुलेको हो । पृथ्वीनारायणले बनाएको दरवारको जग्गा प्रचण्डका तत्कालीन पीएले प्लटिङ गरेर बेच्न लागेपछि स्थानीयले सरकारी निकायमा उजुरी दिए रहस्य खुलेको थियो । तर प्रचण्ड प्रधानमन्त्री भएका कारण माथिबाटै कुरा दबाइएको थियो ।

हुनत नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला सीआईबीले पनि यो उजुरीबारे छानबिन थालेको थियो । हालै अवकाशमा गएकी एआईजी किरण बज्राचार्यलाई माथिबाट दबाब आएपछि शेरा दरवार कब्जाको अनुसन्धान रोकिएको थियो । शेरा दरवारको १८४ मध्ये १६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा रहेको छ ।

नारायणकाजी गृहमन्त्री भएका बेला सो जग्गा हिनामिनाको छानबिन गर्न खोजिएको तत्कालीन प्रधानमन्त्री प्रचण्डबाटै रोकिएको आरोप छ । विकेश श्रेष्ठ प्रचण्डको ससुरालीतिरबाट नाता पर्ने साढुभाई भएकाले छानबिन रोकिएको आरोप लाग्दै आएको छ ।

वि.सं. २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भएको र पछि विकेशको अन्नपूर्ण फार्मिङको नाममा आएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ ।

जग्गा भूमिसुधार ऐनपछि हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेका जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीको कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो । २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहको नाममा रहेको कम्पनीको शेयर जयन्ती शाहको नाममा गएको थियो ।

विभिन्न समयमा विभिन्न व्यक्तिका नाममा शेयर हस्तान्तरण हुँदै जाँदा अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको देखिन्छ । यसबीचमा सो दरवारको जग्गा गौरीशंकर फार्मिङअन्तर्गत नरेन्द्र प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, रजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ, वर्षा बस्नेत, वसन्त बस्नेत हुँदै विभिन्न व्यक्तिको नाममा शेयर किनबेच भएको देखिएको छ । अन्तिममा सो सबै जग्गा विकेशले अन्नपूर्ण फार्मिङ प्रालिका नाममा नामसारी गरेको हो ।

प्रचण्ड पत्नी सीता दाहाल बिरामी नपर्दासम्म नियमित जाने गरेको र उनको लागि भवनसमेत बनाइरहेका बेला बिरामी परेका कारण भवन भने आधा निर्माणपछि छाडिएको छ । प्रचण्डको पत्नीका लागि भवन बनिरहेको कुराले प्रष्ट हुन्छ कि यसमा प्रचण्डको पनि प्रत्यक्ष संलग्नता रहेको छ ।

शेरा दरबारलाई पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रूपमा वि.सं १८२२ मा निर्माण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको