जनकपुरधाम : सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । जअनुसार उनीवरुद्ध १० वर्षसम्मको कैद मागदाबी गरिएको छ ।
त्यस्तै सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम थप सजाय पनि माग गरिएको छ । सामूहिक बलात्कारमा थप ५ वर्ष कैद हुने व्यवस्था छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।
यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय मागदाबी गरिएको छ ।
दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोही अनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।
साहले बेपत्ता पारेको आरोप लागेका नितिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय मागदाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप २ वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्धको मुद्दा जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा सुनुवाई भइरहेको छ।
आज बिहीबार थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि शुक्रबार थुनछेक बहस सकिएको अवस्थामा साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने मध्ये एक आदेश आउने छ ।
२० मंसिरमा उनी वडाध्यक्षको सपथ लिँदै गर्दा पक्राउ परेका थिए । साह सहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।
यो घटना २०७९ फागुनको हो । १७ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । त्यसयता नितिश अझैसम्म बेपत्ता छन् ।