वीरगञ्ज : रौतहट जिल्लाका चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकाका विभिन्न स्थानमा जङ्गली हात्तीले १२ भन्दा बढी घरमा क्षति पु¥याएको छ ।

करिब दुई साताको अवधिमा चन्द्रपुर–३ गैडाटारमा ७ र चन्द्रपुर–२ जुडिबेलामा १ घर भत्किएको छ । गैडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्तबहादुर रुम्बा, मिना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घरमा क्षति पुगेको छ ।

जुडिबेलामा थप एक घर र कालापानी सामुदायिक वनको क्षेत्रमा निर्माण गरिएको पार्क तथा पानी घट्टमा पनि हात्तीले तोडफोड गरेको बताइएको छ ।

यस्तै, फतुवा विजयपुर–११ वुटवा बस्तीमा ४ घर भत्किएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर र हरिशरण मैनालीका घरमा क्षति भएको छ। किसानहरूले विशेषगरी केराखेतीमा ठूलो नोक्सान भएको बताएका छन् ।

हात्तीको उपद्रवबाट चन्द्रपुर–४ कप्तानटोल, जङ्गलटोल तथा अन्य नजिकका क्षेत्रका बासिन्दा दिनप्रतिदिन त्रासदी भोग्न बाध्य छन् । गाउँलेहरूले रातभर सतर्क भएर बस्नुपरेको बताउँछन्। हात्तीको बथानले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै खेतीमा ठूलो क्षति पु¥याउँदै आएको छ ।

सामुदायिक वन क्षेत्रका ७–८ वटा समूहमा विभाजित हात्तीहरू दिनभरि वन क्षेत्रमा लुकेर बसे पनि बिहान र साँझ बस्तीमा प्रवेश गर्ने गरेका छन् । हात्ती देखिने क्रम बढेपछि रातको समयमा यात्रा नगर्न र सम्भावित जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन डिभिजन वन कार्यालय रौतहटले सर्वसाधारणलाई सुझाव दिएको छ ।

स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायहरूले हात्तीको बथानलाई नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्ने माग गरिएको छ । वन क्षेत्र नजिकका बासिन्दाहरूले सरकारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन समाधानको योजना अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको