जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि गणतन्त्र आइसक्दा पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडन जारी नै रहेको बताएका छन् ।

मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए ।

जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए ।

मधेस आन्दोलनका बेलामा नागरिकता समस्याको आंशिक समाधान भए पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको पनि उनले बताए ।

२०४६ को परिवर्तनपछि ३५ वर्षमा ३७ सरकार बने पनि सुशासन, गरिबी र बेरोजगारी हटाउनेतर्फ कुनै सम्भावना ल्याउन नसकेको यादवको आरोप छ । पछिल्लो ३५ वर्षमा कांग्रेस र कम्युनिस्टले देशलाई समस्यामा पारेको आरोप लगाउँदै उनले मुलुकमा भ्रष्टाचारीतन्त्र, कमिसनतन्त्र र लुटतन्त्र स्थापित भएको बताए ।

हरेक निकायमा कमिसनको खेल रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले बिचौलिया र कर्मचारीतन्त्र मिलेर मुलुक चलाउन खोजेको आरोप लगाए । सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै यादवले शिक्षा, कृषि, उद्योग, उत्पादन सबै क्षेत्रलाई पछिल्लो ३५ वर्षमा धराशयी बनाइएको आरोप पनि लगाए ।

पश्चिम नेपालबाट भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट्दै सप्तरी आएका अध्यक्ष यादवले भारतीय स्वतन्त्रता आन्दोलन र समाजवादी आन्दोलनमा सप्तरीको योगदानको चर्चा गरे ।

नेपालमा राणकालीन समयमा भारतीय स्वतन्त्रता आन्दोलनमा सघाउ पु¥याउन कुसहाघाट क्याम्पको चर्चा गर्दै अध्यक्ष यादवले हनुमाननगर जेल काण्डमा थुनिएका भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियालगायत नेतालाई मुक्त गराएको विषय पनि स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको