जनकपुरधाम : सप्तरी प्रहरीले साहुको पैसा हत्याउन लुटपाटको नाटक गरेका एकजनालाई पक्राउ गरेको छ । वीरगन्ज–२१ का समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात गरी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
वीरगन्जबाट बोइलर कुखुरा लिन सहचालक बाराको कलैया–७ का अमिर श्रेष्ठसहित राजविराज आउँदै गर्दा गत पुस २२ गते साँझ ७ बजे राजविराज रुपनी सडक खण्डमा दुईवटा मोटरसाइकलमा चढी आएका चारजना हतियारधारीले आफ्नो बोलेरो जिपको साँचो र साथमा रहेको ३ लाख ८० हजार रुपैयाँ लुटेर लगेको भन्दै जिप चालक आलमले सप्तरी प्रहरीमा झुटो सूचना दिएका थिए ।
उक्त खबरपछि प्रहरीले जिल्लाको नाकाहरू र घटना भएको भनिएको स्थान राजविराज–रुपनी सडक खण्डअन्तर्गत रुपनी–१ रायपुरसहितका स्थानमा जाँच गरेको थियो । जाँचका क्रममा बोलेरोको साँचो गाडी रहेकै स्थानमा फेला परेपछि चालक आलम नै शंकाको घेरामा परेका थिए ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार आलमसँगै सहचालक श्रेष्ठ बोल्न र सुन्न नसक्ने फरक क्षमताका व्यक्ति हुन् । सहचालकले चालक आलमले नै पैसा राखेको जानकारी प्रहरीलाई दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।