जनकपुरधाम : पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।
हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ रहेको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको तथ्याङ्क छ ।
विगत २० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ । विशेषगरी झापालगायत पूर्वी क्षेत्रमा मानव–हात्ती द्वन्द्व ठूलो समस्यामा रूपमा देखिएपछि वन मन्त्रालयले प्राथमिकता दिएर न्यूनीकरणका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।
मंगलबार मात्रै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले झापा पुगेर मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताए । सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा सरोकारवालाले बुझाएको मागपत्र ग्रहण गर्दै उनले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कानुनी बाधा अड्चन फुकाएर भए पनि स्थानीय प्रभावित समुदायका माग र सुझावलाई कार्यान्वयन गर्ने उल्लेख गरेका थिए ।
सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्ती द्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्षसमेत निकालिएको थियो ।
महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबीच सहअस्तित्व कायम गरेर समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ठकुरीसहितको टोलीले मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षणसमेत गरेको थियो ।