जनकपुरधाम: जाडो र हुस्सुको मौसममा सडक सुरक्षा सुनिश्चित गर्नको लागि धनुषा ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान थालेको छ । सो अभियानको प्रमुख उद्देश्य सडक दुर्घटनाका जोखिमलाई कम गर्नु र सवारी चालकहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।
ट्राफिक प्रहरी प्रमुख हरि बहादुर वलीका अनुसार हुस्सुका कारण सडकमा धुमिल भएकोले गाडीका सिसा र चिसोले चालकको हातखुट्टा कठ्यांग्रिनाले दुर्घटनाका सम्भावना बढी हुने गर्दछ । यस समस्यालाई समाधान गर्न ट्राफिक प्रहरीले आगो ताप्ने र गाडीको सिसा पुछ्ने व्यवस्था गरेको छ ।
मंगलबार पूर्वपश्चिम राजमार्ग र जनकपुरधाम–ढल्केवर सडक खण्डमा ट्राफिक प्रहरीले सो अभियान सुरु गरेको छ ।
वलीले बताए अनुसार हुस्सुका कारण गाडीका सिसा धुमिल हुने हुँदा अगाडि देख्न नसक्दा दुर्घटना हुन सक्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले सवारीलाई रोक्दै सिसा पुछ्नको लागि निर्देश दिन्छ । साथै, चिसोले चालकको शरीरलाई कठ्यांग्रिन सक्छ, जसले सवारी चलाउनमा असहजता उत्पन्न गर्न सक्छ । यसका कारण दुर्घटनाका सम्भावना बढ्ने भएकाले स्थान–स्थानमा आगो बालेर चालकलाई आगो ताप्ने सुविधा पनि प्रदान गरिएको छ ।
“चिसो र हुस्सुका कारण दुर्घटनाको जोखिम थपिँदै गएको छ, त्यसैले हामीले चालकहरूलाई सिसा पुछ्न र शरीरलाई तताउनका लागि आवश्यक सुविधा दिने व्यवस्था गरेका छौँ,” ट्राफिक प्रहरी प्रमुख वलीले भने । यस अभियानको मुख्य उद्देश्य जाडो र हुस्सुको मौसममा चालकलाई सुरक्षित र सचेत राख्नु हो ।
वलीले यस अभियानलाई अत्यधिक जाडोको अवधिभर जारी राखिने बताए । जसले गर्दा यात्रु र चालकहरूलाई सुरक्षा र सजगता कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
धनुषाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीका टोलीले गाडीको सिसा पुछ्ने र आगो ताप्ने कार्यलाई निरन्तरता दिनेछन् । यस्तै, जनकपुरधामका अन्य स्थानहरूमा पनि यो अभियान फैलाउने तयारी भइरहेको छ ।