जनकपुरधाम : नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको दोस्रो खेलको पहिलो दिन मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको दोस्रो खेलमा पुलिसले ४० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७४ रन बनाएको छ ।

पुलिसका कुशल भुर्तेलले ६८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए । दिलिपनाथले ४० र अमित श्रेष्ठले ३४ रनको योगदान दिए । मधेशका बलरहरूमा हरिशंकर साहले २ र अभिषेक तिवारीले १ विकेट लिए ।

यसअघि, मधेश प्रदेशले ४२.४ ओभरमा अलआउट हुँदै १२९ रन मात्रै बनायो । मयन यादवले ५९ रनको प्रभावशाली पारी खेले । निरज यादव र अभिषेक तिवारीले क्रमश: २९ र १७ रन बनाएका थिए । पुलिसका गुलशन झा एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट तथा श्रवण यादव र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

यस खेलअघि पहिलो खेलमा मधेशले बागमती प्रदेशसँग र पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेका थिए ।

दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको लिग चरणको खेल वीरगञ्ज र जनकपुरधाममा भइरहेको छ । प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ । ६ खेलपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको