
जनकपुरधाम : मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सामाजिक सञ्जाल नियमन तथा प्रयोग सम्बन्धी बनेको विधेयकको विरोधमा प्रदर्शन गरेका छन् ।
ऋखिल क्रान्तिकारीको धनुषा समिति तथा राराव क्याम्पस र राजर्षि जनक विश्व विद्यालय समितिले संयुक्त रुपमा बिधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले विधेयकको बिरोधमा मशालसहित प्रदर्शन गर्नुका साथै सरकारबिरुद्ध नारावाजी समेत गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा उतरिएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य श्याम साहले बताए ।
प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । “बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन,” उनले भने ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् । उनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्नुपर्ने, सरकारले तोकेका सामग्री हटाउनुपर्ने, र डिपफेक भिडियो अपलोड वा प्रसारलाई अपराध मान्ने प्रावधानको विरोध गरेका छन् । विधेयकमा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने व्यवस्था गरिएकोमा पनि उनीहरूले असन्तुष्टि जनाएका छन् ।