जनकपुरधाम : भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताउंदै सदाचार, निष्पक्षता र निर्भीकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्ने भने ।

मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानी लगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

जनकपुरधाममा संचालित अवैध अस्पतालहरुबारे उनले यहाँका केही अस्पतालहरूलाई गैर–व्यवसायिक व्यक्तिहरू र अव्यवस्थित समूहहरूले सञ्चालन गरिरहेको आरोप लगाए ।

मुख्यमन्त्री सिंहले जनकपुरधाममा धेरै हस्पिटलहरूलाई योग्य स्वास्थ्यकर्मीहरूले नभई एम्बुलेन्स चालकदेखि कुण्डलिया समूह जस्ता गैर–व्यवसायिक व्यक्तिहरूले सञ्चालन गरिरहेको पाइएको बताएका छन् ।

मुख्यमन्त्री सिंहले भने, ‘जनकपुरधाममा अधिकांश हस्पिटल अनमी, नर्स मात्र नभई एम्बुलेन्स चालक र कुण्डलिया ग्याङ्गहरूले समेत चलाइरहेका छन् । अस्पतालहरूमा जाँदा कतिपय ठाउँमा त यस्ता अव्यवस्थित समूहहरूले स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाएँ ।’

सिंहले यस्ता हस्पिटलहरूको व्यवस्थापनमा सुधारको आवश्यकता औंल्याउँदै भ्रष्टाचार र सुशासनभन्दा बढी अव्यवस्थित र गैर–नियमित गतिविधिहरूले स्वास्थ्य सेवाको गुणस्तरमा गिरावट आएको बताए । साथै उनले अवैध क्रसर उद्योगहरूको समेत चर्चा गर्दै यी क्रसरहरू संचालन हुँदा सबै पक्ष मौन बसेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको