जनकपुरधाम : नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पेपिलोमाभाइरस) खोप १४ लाख ३० हजार किशोरीहरूले लगाएका छन् ।
यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको थियो । यसमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार अभियानले ९२ प्रतिशत लक्ष्य हासिल गरेको छ ।
खोप लगाउन छुटेका र खोप लगाउन चाहने किशोरीहरूलाई अझै खोप दिइने प्रक्रिया जारी रहेको उनले जानकारी दिएका छन् । अभियानका क्रममा कक्षा ६ देखि १० सम्मका छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय केन्द्रहरूबाट खोप प्रदान गरिएको छ ।
डा. गौतमले भने, ‘हामीले खोप लगाउन छुटेका स्थानहरूमा पनि खोप दिने प्रक्रिया जारी राखेका छौं ।’
हिमाली क्षेत्रमा हिउँ परेका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङजस्ता दूरदराजका क्षेत्रहरूमा खोप अभियान प्रभावित भएको पनि उनले बताए । त्यस क्षेत्रका किशोरीहरूलाई फागुनको अन्त्यसम्म खोप प्रदान गरिने व्यवस्था गरिएको छ ।
यस अभियानलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले थप उपायहरू अवलम्बन गर्ने योजना बनाएको छ ।

