जनकपुरधाम : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखाको रुपमा रहेको मधेश प्रदेशस्थित अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

बिहीवार बेलुका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले प्रतिष्ठानलाई केन्द्रको सो शाखा अस्पतालको भवन, उपकरण र जनशक्ति समेत हस्तान्तरण गरेका हुन् ।

केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मल्ल, प्रवक्ता सुधिरचन्द्र दाहाल, जनकपुरधाम शाखा इन्चार्ज डा. राजेश साह र प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. अंकुर साह, रजिष्टार डा. विनोद यादव तथा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंहले हस्तान्तरण हस्ताक्षर गरेका छन् ।

अस्पतालका सम्पूर्ण सेवा यथावतै राख्दै प्रतिष्ठानको निती नियम अनुसार संचालन गरिने र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई प्रतिष्ठानको निती नियम सेवा सुविधा दिने सम्झौता भएको बुझिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला २०७६ साल साउन ९ गतेका दिन उद्घाटन गरी राजधानी बाहिर केन्द्रको पहिलो शाखाको रुपमा संचालनमा ल्याइएको थियो ।

तात्कालिन जनकपुर अंचल अस्पताल हालको प्रादेशिक अस्पतालसँग गरिएको सम्झौता अनुसार संचालनको ५ वर्षदेखि १० वर्षभित्र हस्तान्तरण गर्ने शर्तमा सो हृदय केन्द्र अस्पताल संचालनमा ल्याइएको थियो भने सोही सम्झौता अनुसार हस्तान्तरण पनि गरिएको हो । तर त्यो सम्झौतामा कार्यरत कर्मचारी हस्तान्तरण गर्ने भन्ने कुरा उल्लेख गरिएको थिएन ।

प्रतिष्ठानलाई केन्द्र हस्तान्तरण गरिएकोमा केन्द्रमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरु आफूलाई प्रतिष्ठानको होइन केन्द्रले दिदैं आएको सेवा सुविधा दिनुपर्ने माग राखेका छन् । नाम नबताउने शर्तमा एक कर्मचारीले भने केन्द्रले दिदैं आएको सेवा सुविधा र प्रतिष्ठानले दिने सेवा सुविधामा आकाश पातालको अन्तर छ । हामीहरुलाई केन्द्रले नै दिदैं आएको सेवा सुविधा दिनुपर्छ । नत्र आफूहरुको आन्दोलन जारी नै रहनेछ ।

केही दिन यतादेखि केन्द्रमा कार्यरत कर्मचारीहरुले यी मागहरु राख्दै आन्दोलनरत रहेका थिए । कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न तथा अन्यायपूर्ण निर्णय गरिएको भनी आन्दोलन गर्दै अस्पताल अगाडि नै विरोधमा उत्रेका थिए । उनीहरूले उक्त समायोजन प्रक्रिया निष्पक्ष नरहेको र बिना कुनै परामर्शकै जबरजस्ती लागू गर्न खोजिएको आरोप लगाएका छन् ।

कर्मचारीहरूले समायोजन प्रक्रिया पारदर्शी छैन र यसले आफूहरूको हक र अधिकारमाथि अतिक्रमण भएको बताएका छन् । उनीहरू भन्छन्, ‘समायोजनको निर्णयमा हाम्रो कुनै संलग्नता छैन । यो हाम्रो सेवासँग मात्र सीमित छैन प्रादेशिक अस्पताल आफै लथालिंग अवस्थामा रहेकाले सेवाका गुणस्तरमा समेत गिरावट आउन सक्नेछ र यसले बिरामीहरूलाई समस्या पार्न सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको