
जनकपुरधाम : पाँच जनाको ज्यान जाने गरी २०७३ साल फागुन २३ गते भएको सप्तरीको मलेठ मलेठ घटनाका सहिदहरुको सम्मानमा शुक्रबार साँझ राजविराजमा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको अगुवाइमा सो पार्टीका कार्यकर्ताले मैनबत्ती बालेर राजविराज बजारमा प्रदर्शन गरेका हुन् ।
२०७३ फागुन २३ गते सप्तरीको मलेठमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो । नेपाल सरकारले पाँचैजनालाई सहिद घोषणा गरिसकेको छ ।
मलेठ घटनाको शुक्रबार आठ वर्ष पूरा भएको छ । सहिदप्रति सम्मान प्रकट गर्न आयोजना गरिएको मैनबत्ती जुलुस राजविराजको विभिन्न भागको परिक्रमा गर्दे जनआन्दोलन चोकमा पुगेर सम्पन्न भएको थियो ।
यसैबीच घटनाको सम्झनामा शुक्रबार राजविराज नगरपालिकाले बिदा दिएको छ । राजविराज नगरपालिका मातहत अत्यावश्यक सेवा बाहेकका निकायहरुमा बिदा दिएको कार्यवाहक नगरप्रमुख इशरत परविणले विदा दिएको थियो ।
नेकपा एमालेले तात्कालीन अवस्थामा सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत राजविराजको मलेठमा आयोजना गरिएको सभाका क्रममा तात्कालीन मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो । सरकारले उक्त घटनामा मृत्यु भएका पाँचै जनालाई सहिद घोषणा गरेको थियो ।