जनकपुरधाम : नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।
ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।
ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।
ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।
ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।
यता महिलातर्फ पुजा महतो ए ग्रेडमा समावेश भएकी छन् ।
सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ए मा छन् ।
यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को मार्दै ए मा पुगेकी हुन् । उनकै कप्तानीमा नेपालको यू१९ महिला टोलीले पहिलो पटक आईसीसी यू१९ महिला क्रिकेट विश्वकप खेलेको थियो ।
क्यानले महिलातर्फ एनुअल कन्ट्राक्मा १९ खेलाडीलाई समावेश गरेको छ । जसमा ए मा ४ खेलाडी छन् भने बी मा एक र सी मा दुई खेलाडी छन् । ग्रेड बी मा कविता जोशी मात्र छिन् भने ग्रेड सी मा कविता कुँवर र सम्झना खड्का छिन् ।
यसअघि कविता कुँवर ग्रेड बी मा थिइन् । यसअघि ग्रेड डी मा रहेकी कविता जोशी भने ग्रेड बी मा पुगेकी छन् । ग्रेड डी मा १२ खेलाडी छन् । जसमा राष्ट्रिय टिमकी विन्दु रावल, रोमा थापा र इश्वरी विष्ट छन् भने यू१९ राष्ट्रिय टिमका ९ खेलाडी समावेश छन् ।
९ खेलाडी नै पहिलो पटक ग्रेड डी मा समावेश भएका हुन् । जसमा एलिसा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय छन् ।
क्यानका अनुसार ग्रेड ए मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने बी ले ३५ हजार, सीले २५ हजार, डीले २० हजार तलब पाउनेछन् ।
यसअघि क्यानले इमर्जिङ क्याटेगोरी समावेश गरेकोमा यस पटक हटाएको छ । ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।

