
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ स्थित जमुनिवासमा एक पुरुषको शव इनारभित्र फेला परेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार मृतक स्थानीय ३५ वर्षीय नारायण घिसिङ रहेको छ ।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मृतक घिसिङको शव उनको घर नजिकै रहेको इनारभित्र फेला परेको हो । सोमबार साँझ घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भए पनि रातीको अन्ध्यारो र कठिन परिस्थितिका कारण शवलाई इनारबाट निकाल्न सकिएको थिएन । त्यसपछि, मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको जानकारी प्राप्त भएको छ ।
शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाइएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरी निरीक्षक यादवले भने, ‘मृत्युको कारण र घटनाबारे यकिन जानकारी हामीसँग छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कारण खुल्नेछ ।’
घटनाबारे अनुसन्धान भइरहेको र थप जानकारी प्राप्त भएमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ । मृतकका पिता काजीसिंह घिसिङले भने, ‘चार दिनदेखि छोरा हराएको थियो ।
मैले आफन्त र चिनजानका व्यक्तिहरूसँग फोन गरेर खोजी गरिरहेको थिएँ । सोमबार साँझ घरका केटाकेटीहरूले इनार नजिकको दुर्गन्ध महसुस गरेपछि इनारभित्र हेर्दा मानिसको हातखुट्टा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।’