
जनकपुरधाम : मधेस प्रदेशसभाका प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहाले मधेसका केही मन्त्रीहरुको दिमागी सन्तुलन बिग्रिएको बताएका छन् । पछिल्लो समय मधेसका केही मन्त्रीहरु अनापसनाप अभिव्यक्ति दिईरहेको बताउँदै प्रदेशसभा सदस्य कुशवाहाले ती मन्त्रीहरुको दिमागी सन्तुलन बिग्रिएको बताए । उनले प्रदेशसभा बोल्दै त्यस्ता मन्त्रीहरुको उपचार सरकारलाई आफ्नै खर्चबाट गरिदिन आग्रह समेत गरे । उनले भने ‘मधेसका केही मन्त्रीहरुको दिमागी सन्तुलन बिग्रिएको छ, सरकारसंग आग्रह गर्न चाहन्छु त्यस्ता मन्त्रीहरुको उपचार प्रदेश सरकारले आफ्नै खर्चबाट गरि दिओस ।’
कुशवाहाले एक अर्को प्रसंगमा प्रदेश सरकारले छुट्याएको बजेट तथा योजनाहरुमा मन्त्रीहरुले ब्रह्मलुट मच्चाएको आरोप समेत लगाए । उनले मधेस प्रदेशका कार्यालय प्रमुखहरुले योजनाका चिठ्ठीहरु मन्त्रीको सचिवालयले नै लिएर लगेको गुनासो गरिरहेका छन् के यो लुटतन्त्र होइन प्रश्न गरे ।
उनले भने ‘कसैको घरमा पसेर धनसम्पति लुट्नेलाई लुटेरा भन्छौँ, चोरेर लग्नेलाई चोर, मन्त्री नै चिठ्ठी लुटेर लग्दा उनलाई नैतिकहिन भन्ने वा भ्रष्टाचारी शब्द यहाँहरुले नै चयन गर्नुस ।’