
वीरगञ्ज : सशस्त्र प्रहरीले बाराबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
बाराको पचरौता नगरपालिका – ३ रामनगरबाट बुधवार राति सशस्त्र प्रहरीले १०३ किलोग्राम गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
रामनगरबाट कोतवालीतर्फ जाँदै गरेको उक्त ट्रकलाई सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटको बर्नरभित्र र ट्रकको हुडमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो । चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजासहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।