जनकपुरधाम : बिना कुनै योजना र नितीको प्रदेश सरकारका नेतृत्वकर्ता मुख्यमन्त्री शतिसकुमार सिंहले सुरखुरु बन्न चलाएको निजी अस्पताल अनुगमन अभियानलाई स्थानीय तहले झापड हानेको छ ।

रौतहटमा मुख्यमन्त्री सिंहले बिनादर्ता र मापदण्डविपरीतका अस्पताल बन्द गराएका अस्पतालहरुलाई पालिकाले संचालन गर्न लगाएका छन् । मुख्यमन्त्री सिंहले फागुन १७ गते चन्द्रपुर नगरपालिकाका अस्पतालको अनुगमन क्रममा १० वटा दर्ताबिना सञ्चालनमा रहेको पाइएपछि बन्द गराएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पताल बन्द गराएको एक सातापछि चन्द्रपुर नगरपालिकाले स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ को दफा ५३ अनुसार भन्दै ३५ दिनका लागि अस्थायी अनुमतिपत्र दिएर सञ्चालन गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले बन्द गराएका चन्द्रपुर सिटी अस्पताल, हाइवे ट्रमा सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल, अर्थोपेडिक अस्पतालहरु धमाधम सञ्चालनमा आए ।

यसको जानकारी पाएलगत्तै मुख्यमन्त्री सिंहले हुँदै नभएको दफा टेकेर नगरपालिकाले अस्थायी दर्ता पत्र दिएको भन्दै आपत्ति जनाएका छन् । रक्तसञ्चार केन्द्रको नवीकरण तथा खारेजीको दफा लगाएर चन्द्रनिगाहपुरमा बन्द गराइएका अस्पतालहरुलाई नगरपालिकाले अस्थायी अनुमतिपत्र दिएको मुख्यमन्त्री सिंहले बताए ।

‘मानिसको स्वास्थ्यसँग खेलबाड गरेर बिनादर्ता मापदण्डविपरीतका अस्पतालाई हुँदै नभएको दफा लगाएर सञ्चालन गर्न दिएको रहेछ । त्यो कदापि राम्रो होइन,’ उनले भने, ‘यो सबै बन्द हुनुपर्छ । नगरपालिकाले प्रक्रिया पु¥याएको छ-छैन हेरेर मात्र दर्ता गराउनुपर्छ ।’

मुख्यमन्त्री कार्यालयले चैत्र ४ मा विज्ञप्ति निकालेर नियमविपरीत अस्थायी अनुमतिपत्र दिएको भन्दै आपत्ति जनाएपछि चन्द्रपुर नगरपालिकाले भोलिपल्ट अस्थायी पत्र खारेज गरेको थियो । त्यसपछि पनि अस्पताल सञ्चालन गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक राजेश ठाकुरले सिम्स र सिभिल अस्पतालले प्रक्रिया पूरा गरेको भनेर दर्ताका लागि कागजात पेस गरेको बताए । अहिले बिनादर्ताका १० वटै अस्पताल सञ्चालनमा छन् । नगरपालिकाको पत्र प्राप्त गरे तापनि उनीहरुले अटेर गरेर खोलेका छन् । सञ्चालकहरुले दर्ताका लागि नगरपालिकामा सबै कागजपत्र दिएकाले अस्पताल खोलेको बताउँदै आएका छन् ।

अस्पतालको इमरजेन्सी, आईसीयू, फार्मेसी, चिकित्सक बस्ने कक्ष र चर्को शुल्कलगायत मापदण्ड पूरा नगरेको भन्दै मुख्यमन्त्री सिंहले चन्द्रपुर र गरुडा नगरपालिकाका २० वटा अस्पताल बन्द गराइएको थियो ।

चन्द्रनिगाहपुर र गरुडाका अधिकांश अस्पताल दर्ता नगरी सञ्चालन गरेको र आईसीयू, इमरजेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको मुख्यमन्त्री सिंहले बताए । गरुडाका अरुण सिटी हस्पिटल, अनामिका हस्पिटल, गरुडा अस्पताल, रोमा हस्पिटल, होप हस्पिटल, सनसिटी हस्पिटल, सरस्वती हस्पिटल, आनन्द हस्पिटल अनुगमनका क्रममा मापदण्डविपरीत फेला पारेपछि मुख्यमन्त्री सिंहले बन्द गराएका थिए ।

अस्पताल मापदण्डमा धुलो, धुवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त हुनुपर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्छ । सवारी पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने मापदण्ड बनाइएको छ । तर यहांका अधिकांश अस्पतालले यो मापदण्ड पूरा गरेका छैनन् । तर मुख्यमन्त्रीलाई चुनौती दिदैं पालिकाले सो अस्पतालहरु संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको