
जनकपुरधाम : राजनीतिमा नयाँनयाँ प्रयोग गर्न खप्पिस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो महिना अर्काे प्रयोग गरे ।
पार्टी कमजोर हुन थालेको, नेताहरू नै गुट र उपगुटमा सक्रिय भएको र भद्रगोल संगठनका बीच प्रचण्डले जनतातर्फ फर्कने योजना बनाए ।
मंसिर १६ गते भएको उपचुनावको लागि केही जिल्ला पुगेकै कारण केही पालिका जितेपछि उनलाई सो निर्णय लिन थप सजिलो भयो ।
केन्द्रीय समिति बैठक राखेर फागुन १२ देखि चैत १२ सम्म पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तराई–मधेस जागरण अभियान गर्ने कार्यक्रम बनाए ।
झापाको कचनकवलबाट थालिएको अभियान शुक्रबार (चैत ८) पर्सा पुग्दा कोसी र मधेस प्रदेशमा अभियान सकिएको छ ।
माओवादी नेताहरू अभियानले निकै उत्साहित बनाएको बताउँछन् । हुलाकी राजमार्गकेन्द्रित अभियान गर्ने माओवादी पहिलो दल हो । हजारौं मानिसले देखाएको सक्रियताले पार्टीलाई जुरुक्क माथि उठाएको भन्दै माओवादी नेताहरू निकै उत्साहित र हर्षित देखिन्छन् । अभियानको केन्द्रमा छन्, अध्यक्ष प्रचण्ड ।
उनको बिहानको हिँडाइ, स्थानीय परिकार खाने र स्थानीयकै भरमा सुत्ने दैनिकीजस्तै बनेको छ ।
अभियान चलेका ठाउँमा बिहानै प्रचण्ड हिँडेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भइनसक्दै उनको अर्काे दैनिकी जनतासँग भलाकुसारी सुरू भइसकेको हुन्छ ।
काठमाडौंमै केन्द्रित भएर राजनीतिक गतिविधिमा सक्रिय हुँदा बिर्सिएको आफ्नो वर्ग जागरण अभियानमा भेटिएको प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटा बताउँछन् ।
जनतासित पातलो भएको जनसम्बन्ध सुदृढ भएको र यसले पार्टी निर्माण नयाँ चरणमा प्रवेश गरेको उनको भनाइ छ ।
‘आफ्नो वर्ग, जनताप्रति फर्कनुपर्छ, त्यसले मात्र हाम्रो नयाँ ढंगको समाजवादी क्रान्तिको आधार तयार पार्न सकिन्छ भन्ने कुराको विश्वास पैदा हुनु नै सबैभन्दा ठूलो शिक्षा हो,’ चितवन पुगेका सापकोटाले भने, ‘अभियानपछि निकै बलियो आधार तयार भएको छ । लोकप्रियताको ग्राफ धेरै बढेको छ । निकै ठूलो लहरै आएको छ ।’
कोसीका झापा, मोरङ र सुनसरी हुँदै मधेस छिरेको अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित कम्तीमा ३० जना प्रभावशाली नेता छन् ।
‘पूर्वका ३ जिल्लामा १८ वटा सभा नै भए, मधेसमा ठूला १०–१२ वटा कार्यक्रम भए, हामी १२ दिनभन्दा बढी जनताको घरमै रह्यौं,’ सापकोटाले थपे ।
उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मात्रिका यादवले तराई क्षेत्रमा अपार माया पाएको बताए ।
‘त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नुभएकोले कार्यकर्तामा, जनतामा र घर नछोड्ने नेतामा जोश जाँगर पैदा भएको छ,’ उनले भने, ‘आज हामीले ठोरीबाट बिदाइ ग¥यौं । जनयुद्धकालीन उत्साह र उमंग थियो । गाउँगाउँमा अध्यक्ष गएपछि जनतामा अर्काे तरंग पैदा भएको छ ।’
‘अभियानले धेरै मानिसलाई जोडेको यादवको भनाइ छ । ‘स्थानीय जनताले आफै प्रत्यक्ष सहभागी भएर आफ्ना कुरा राखे । अब माओवादी नै हो, माओवादी जनतामा आएपछि सुध्रिन्छ। जनतामा विश्वास पैदा भएको छ ।’
हुन त प्रचण्डसत्ता र शक्तिका लागि कुन हदसम्म जान्छन् भन्ने कुरा पनि उनको ताजा विगतले देखाएकै छ । पार्टीलाई संगठनभन्दा सदरमुकाम केन्द्रित गर्नमा मुख्य भूमिका उनकै हो । उनैले संगठनभन्दा पनि चलखेलमा ध्यान दिँदा माओवादीको यात्रा ओरालो लागेको नेताहरू स्वीकार गर्छन् ।
तथापि, असार १७ गते मध्यराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले ७ बुँदे सहमति गरेर प्रचण्डको सत्ता हत्याइदिएपछि उनले जनता सम्झेका हुन् ।
असार २८ गते सत्ताबाट बाहिरिएका प्रचण्डले बल्ल आफैँलाई लगाम लगाउनुपर्ने निष्कर्ष निकालेर समुदायतिरै फर्किएको नेताहरु बताउँछन् ।
‘हामी सरकारमुखी भयौँ। काठमाडौँमुखी भयौँ । नेता र कार्यकर्ता सिंहदरबार धाउने भयौँ, जसले गर्दा जनतासँग कडी टुटेको थियो,’ यादवले भने, ‘जहाँबाट बिग्रेका हौँ, त्यहीँबाट सच्चिनुपर्छ भन्ने प्रचण्डकै भनाइअनुसार हामी जनतातिर फर्किएका हौँ । उत्पीडित, वर्ग समुदायतिर फर्केपछि पार्टी बन्छ ।’
कोसीका तीन जिल्ला र मधेस प्रदेशका ८ जिल्लाको अभियान सकेपछि प्रचण्ड निकै उत्साहित भएको यादवको भनाइ छ ।
‘हामी जनतामा फर्किए जनताले माया गर्दा रहेछन्, माया ममता पाइयो, अध्यक्ष कमरेड धेरै उत्साहित भएर चितवन लाग्नुभयो,’ उनले थपे ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर भने अहिले नै हौसिने अवस्था नभएको बताउँछन्।
‘प्रचण्डजीको पहिला मधेससँग लभ प¥यो, अनि लिभिङ टुगेदरमा बस्नुभयो, त्यसपछि सम्बन्ध विच्छेद गर्नुभयो । अहिले सम्बन्ध बिर्सिसकेकासँग फेरि प्रेम टुसाउन थालेको छ,’ उनले भने, ‘पूर्वपत्नीलाई चिया, खाजा खान बोलाएजस्तै उहाँले जागरण अभियान गरिराख्नुभएको छ । यो पहिलो लभ होइन, हिजो पावरमा भएको बेला कस्तो राजनीति गरे र अब गर्छन्, देखिएकै छ । भीड त सबैको लाग्छ ।’
उनले मधेसमा माओवादीप्रति उभार ल्याउने नेता नै नभएको ठोकुवा गरे ।
‘अहिले माओवादीभित्र मात्रिकाजीको हैसियत के? पहिला मधेस र माओवादी भन्नेबित्तिकै उहाँको नाम आउँथ्यो। अहिले मधेसमा मात्रिकाजीले देखाउने कुरा के छ ? उहाँको पार्टीमा मधेसी कति नम्बरबाट सुरु हुन्छ?’ चन्द्रकिशोरले थपे, ‘माओवादी पार्टी कसको वर्चस्वमा छ? मधेसले कसरी उहाँलाई पत्याउने? मधेसले त सम्झेको छ नि ? अन्तरिम संविधानमा उहाँले संघीयता बिर्सनुभयो, मधेस मुभमेन्ट नै उहाँहरूको कारण उत्पात भयो। तर, घुमेको राम्रो ।’
झापा, मोरङ र सुनसरीमा भएका कार्यक्रमले माओवादीको पक्षमा लहर नै ल्याएको माओवादीका कोसी संसदीय दलका नेतासमेत रहेका नेता इन्द्र आङ्बो बताउँछन् ।
फागुन १२ देखि १५ सम्म गरेर १८ वटा कार्यक्रम तीन जिल्लामा मात्र भएका थिए । त्यसमा आन्तरिक कार्यक्रम धेरै भए ।
मोरङमा भएका कार्यक्रमले क्याम्पसमा स्ववियु चुनाव जितेको उनले दाबी गरे ।
‘स्थानीय तहको उपचुनावले कोसीमा लहर आएकै थियो, अहिलेको जागरण अभियानले पार्टीलाई निकै माथि उठाउन भूमिका खेलेको देखिन्छ,’ आङ्बोले भने, ‘नयाँ आत्मविश्वास र उत्साह अहिलेको अभियानले जन्माएको छ ।’
०८४ को चुनावमा गठबन्धन कोसँग हुन्छ भन्दै व्यंग्य हानिएको जवाफ अभियानले फर्काएको आङ्बोको भनाइ छ ।
‘नयाँ उत्साह, जनताबाट अभूतपूर्व समर्थन पाउँदा ढुक्कले भन्न सकिन्छ । ०८४ मा आफ्नै खुट्टामा उभिएर पनि माओवादीलाई निर्णायक शक्तिका रुपमा उभ्याउन सकिन्छ भन्ने आधार तय भयो,’ उनले थपे, ‘उच्च तहबाट जनतासम्म पुग्ने प्रचण्ड मात्र हो । केही गरे माओवादीले गर्छ भन्ने सन्देश गएको देखिन्छ । जनतासँग जीवन्त संवाद हुँदा खास समस्या बुझ्न अध्यक्ष प्रचण्डलाई सहज भयो ।’
त्यसो त, माओवादीले जागरण अभियान गर्नुको मुख्य कारण सरकारप्रति असन्तुष्ट जनमत आफ्नो पक्षमा पार्नु थियो ।
जनता भेट्न थालेपछि प्रचण्डले सरकारप्रति असन्तुष्टि त जनाए तर त्योभन्दा बढी जनताले खेप्नुपरेको पीरमर्का ध्यानपूर्वक सुन्नमा खर्चिए ।
‘चाहे मर्निङ वाक जाँदा होस् वा खाना खाँदा, अथवा सभामै किन नहोस्, अध्यक्षको पहिलो प्राथमिकता जनता भयो,’ यादवले थपे, ‘हाम्रो अध्यक्षलाई जनताले यति प्रभावित पारेका छन् कि अब हरेक कार्यक्रमको योजना बनाउँदा उहाँलाई काठमाडौं होइन, दूरदराजका जनता याद आउनेछ ।’
उनका अनुसार, प्रचण्डले धेरै कुरा आफ्नो डायरीमा टिपोट गरेका छन् । केही कुरा टिप्न र रेकर्ड राख्न सचिवालयलाई लगाएका छन् ।
नेताहरुका अनुसार, प्रचण्डले सकेसम्म आफूलाई विशेष हो, सामान्य नागरिकसरह नै प्रस्तुत गर्न खोजे। चट्ट परेर, मिलेको लुगा लगाएर हिँड्न खोजेनन् ।
‘जनता र म उस्तै हो भन्नुहुन्छ, सामान्य नागरिक र म फरक छैनौँ, भन्नुहुन्छ,’ यादवले भने ।
झापाको कचनकवलबाट गरिएको कार्यक्रममा पार्टीका सबै पदाधिकारी सहभागी भए। उपमहासचिव तहका केही नेतालाई बोल्न लगाए ।
प्रभावशाली र पार्टीभित्र तल्लो तहसम्म पहुँच भएका नेतालाई आफूसँगै हिँडाएर प्रचण्डले पार्टी एकताबद्ध बनाए ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकपटक मञ्चबाटै रिसाएर हिँडे पनि मधेस प्रदेशभरि उनले अभियानमा प्रचण्डलाई छोडेनन्। अझ प्रचण्डकै जस्तो पोसाक लगाएर हिँडे।
पम्फा भुसाल, अग्नि सापकोटा, जनार्दन शर्मा, वर्षमान पुनलगायत पनि अधिकांश समय साथमै रहे । त्यसैले पार्टीमा एकताको सन्देश दिन पनि यस अभियानले महत्त्वपूर्ण भूमिका खेलेको माओवादी नेताहरुको विश्वास छ ।