जनकपुरधाम : धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको छ । किसानहरूमा यसको उत्पादनप्रति रुचि बढ्दै गएकाले क्षेत्रफल समेत विस्तार भइरहेको छ ।

स्थानीय किसानहरूका अनुसार, वर्षे धानभन्दा बढी उत्पादन दिने, तुलनात्मक रूपमा रोग तथा कीराको समस्या कम हुने र सिँचाइको उचित व्यवस्था भएकाले चैते धान खेतीप्रति आकर्षण बढेको हो ।

धनुषाधाम नगरपालिका–६, हरिपुरका किसान मुनजी यादवका अनुसार, गहुँबाली भित्र्याएपछि खाली भएको खेतमा अहिले किसानहरू चैते धान रोप्न व्यस्त छन् । ‘तीन–चार वर्ष अघिसम्म थोरै किसानले मात्र यो बाली लगाउँथे, तर अहिले चैते धान खेती गर्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ,’ यादवले बताए । उनका अनुसार, यहाँका अधिकांश खेतमा अहिले चैते धान लगाइएको छ ।

किसानहरूले आफ्नै लगानीमा स्यालो ट्युवबेल गाडेर सिँचाइको प्रबन्ध गरेका छन्। मुनजी यादवले मलखाद सहज उपलब्ध गराइएमा, सहुलियत दरमा धानको बीउ उपलब्ध भएमा, र सरकारी सहयोग प्राप्त भएमा उत्पादन क्षेत्रफल अझै बढ्ने बताए । धनुषाधाम नगरपालिका–६ का वडाध्यक्ष ऋषि लामाका अनुसार, अघिल्लो वर्षको तुलनामा यसपाली अधिक क्षेत्रफलमा चैते धान रोपिएको छ ।

मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपालि दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । रातु नदीबाट कुलोमार्फत सिँचाइको व्यवस्था भएकाले स्थानीय किसान प्रेमबहादुर कार्कीले समयमै रोपाइँ सम्पन्न भएको जानकारी दिए। यद्यपि, सिँचाइको पूर्ण सुविधा नभए पनि बाह्रै महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान खेती भइरहेको उनले बताए ।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतका अनुसार, चैते धान खेती प्रवद्र्धन गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवका अनुसार, पछिल्लो केही वर्षयता जिल्लामा चैते धान खेतीको विस्तार भइरहेको छ। मिथिला, धनुषाधाम, छिरेश्वरनाथ, सबैला लगायतका पालिका चैते धान खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

‘कतिपय स्थानमा रोपाइँ भइरहेको छ भने कतिपय ठाउँमा रोप्ने समय अझै बाँकी छ। त्यसैले जिल्लामा कति हेक्टरमा यो धान रोपियो भन्ने यकिन तथ्यांक अहिले उपलब्ध छैन, तर अनुमानित रूपमा ५,००० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती भइरहेको छ,’ प्रमुख यादवले बताए ।

उनका अनुसार, वर्षे धानभन्दा बढी उत्पादन दिने भएकाले किसानहरू यो बालीतर्फ आकर्षित भएका छन्। साथै, रोग र कीराको समस्या न्यून भएकाले पनि किसानहरूले चैते धान खेतीलाई प्राथमिकता दिन थालेका छन् । यदि जिल्लाभरि सिँचाइको व्यवस्था गर्न सकियो भने चैते धान खेतीको विस्तार अझ तीव्र हुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको