जनकपुरधाम : धनुषा जिल्ला अदालतले गंगासागर पोखरीको डिलमा बन्न लागेको संरचना तत्काल रोकिने गरी अन्तरकालिन आदेश जारी गरेको छ । अदालतले धार्मिक महत्व बोकेको गंगासागर क्षेत्रलाई मध्यनजर गर्दै संरचना निर्माण यथास्थितिमा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश ईश्वर आचार्यको इजलासले दिएको आदेशमा महेन्द्र प्रसाद साहको तर्फबाट दायर निवेदनको सुनुवाइपछि उक्त निर्णय गरिएको उल्लेख छ । वादीका तर्फबाट वरिष्ठ अधिवक्ता रामनेक साह, मुकेश कुमार कार्की तथा अधिवक्ताहरू राम सागर साह, राकेश कुमार साह र राहुल कुमार झा समेतले अदालतमा बहस गरेका थिए ।

वादी पक्षले राम नारायण मिश्र स्मारक समितिको नाममा रहेको कित्ता नं. १७ र १८ मा संरचना निर्माण रोक्न माग गर्दै अदालतमा निवेदन दायर गरेका थिए । ती जग्गाहरूको दर्ताको मूलस्रोत नै विवादित रहेको भन्दै वादीले जग्गा दर्ता बदर गरिदिन अनुरोध गरेका छन् ।

वादी पक्षले गंगासागरजस्तो धार्मिक महत्व बोकेको क्षेत्रको छेउमा निर्माण कार्य गर्नु सम्पदाको संरक्षणविरुद्ध रहेको तर्क अदालतमा प्रस्तुत गरेका थिए । गंगासागर पोखरी जनकपुरधामको प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हो । यहाँ प्रत्येक वर्ष लाखौं श्रद्धालु हरिहर क्षेत्र मेला लगायतका धार्मिक कार्यक्रममा सहभागी हुने गर्छन् । पोखरी वरिपरिका डिलहरूलाई धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका आधारमा संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग पटक–पटक उठ्दै आएको छ ।

अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ (२०) अनुसार मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि जग्गालाई यथास्थितिमा राख्न आदेश दिएको छ । आदेशमा राम नारायण मिश्र स्मारक समितिलाई पनि सो जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको