जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बारा जिल्लाका योगशिला अस्पतालसहित १२ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

जिल्लाको सदरमुकाममा कलैयामा रहेका निजी अस्पतालहरूको अनुगमनको क्रममा कलैयास्थित योगशिला अस्पताल प्रालिलाई बन्द गर्न निर्देशन दिए ।

स्थानीय तहबाट सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरे पनि मापदण्डअनुसार सञ्चालनमा नरहेका ६ वटा तथा सेवा सञ्चालन अनुमतिपत्र नलिएका ६ वटा गरी १२ वटा स्वास्थ्य संस्थालाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्देशन दिएका हुन ।

शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैँ निजी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको निरीक्षणमा जुटेका हुन् । मुख्यमन्त्री सचिवालयका अनुसार, हालसम्म मुख्यमन्त्री सिंहले कलैयास्थित योगशिला अस्पताल प्रालिको सेवाबारे जाँच गरेका थिए ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार स्थानीय तहले ५ देखि १५ शय्यासम्मको अस्पतालको सेवा सञ्चालन अनुमति दिनसक्छ । त्यसरी सेवा सञ्चालन अनुमति लिएका स्वास्थ्य संस्थाले समान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति, बाल तथा शिशु सेवा, सामान्य दन्त सेवा, आकस्मिक सेवा, आधारभूत शल्यक्रिया सेवा, आकस्मिक प्रयोगशाला तथा रक्तसञ्चार, निदानात्मक सेवा, प्रयोगशाला सेवा, रेडियो इमेजिङ सेवा, फार्मेसी सेवा र मेडिकोलिगल सेवा उपलब्ध गराउने कानुनी प्रावधान छ ।

तर, स्थानीय तहबाट १५ शय्याका लागि सेवा सञ्चालन अनुमति लिएका कलैयाका योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनरल हस्पिटल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि र आशीर्वाद हस्पिटल प्रालिले २५ देखि ५० शय्यासम्मका अस्पतालले प्रदान गर्न पाउने हाइ डेपेडेन्सी युनिट(एचडियु), सघन उपचार कक्ष(आइसियु), एसएनसियु तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरिरहेका पाइएको छ ।

२५ देखि सय शय्यासम्मको स्वास्थ्य संस्था सञ्चालनका लागि प्रदेश सरकारबाट सञ्चालन अनुमति लिने प्रावधान छ । प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले स्थानीय तहबाट सेवा सञ्चालन अनुमति लिएका ती अस्पतालहरुले निर्धारित सेवा उपलब्ध नगराएको देखिएपछि बन्द गर्न निर्देशन दिएका हुन ।

उनका अनुसार शनिबारको अनुगमनक्रममा स्वास्थ्य संस्था अनुमतिपत्र प्राप्त ननगरेका रारा हस्पिटल प्रालि, राजकुमारी पोलीक्लिनिक प्रालि, न्यू जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक र स्टार डेन्टल क्लिनिकलाई समेत बन्द गर्ने निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सतिस सिंहले गत २५ माघदेखि प्रदेशभरिका निजी अस्पतालहरूको अवस्था बुझ्ने अभियान थालेका थिए । जनकपुरबाट सुरु भएको यो अभियान अन्तर्गत उनले हाल प्रदेशका विभिन्न जिल्लामा निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार, यो अढाइ महिनाको अवधिमा मुख्यमन्त्री सिंहले १८० वटा निजी अस्पतालको अनुगमन गरिसकेका छन् । जसमध्ये १३३ वटा निजी अस्पताल मापदण्डविपरीत सञ्चालित रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको