
जनकपुरधाम : सिरहा सदरमुकामस्थित श्री सुसमोयाब क्याम्पसमा ‘सलहेश महोत्सव’को आयोजना गर्ने तयारी भइरहँदा प्रशासनले अनुमति दिन इन्कार गरेको छ । महोत्सव आयोजनाका लागि अनुकूल समय नरहेको भन्दै प्रशासनले इन्कारी जवाफ दिएको हो ।
महोत्सवका लागि सिद्धबाबा एविजसन काठमाडौंसँग सलहेस युवा क्लव सिराहाले सम्झौता गरेको थियो । वैशाख २६ देखि जेष्ठ १६ गतेसम्म महोत्सव आयोजना गर्ने सम्झौता भएको छ । क्लबलाई महोत्सवका लागि सिरहा क्याम्पसले पनि मैदान उपलब्ध गराउने सहमति दिइसकेको छ । क्याम्पस प्रमुख राजेश्वर प्रसाद यादवले अध्ययन–अध्यापन, परीक्षालगायत कुनै पनि काममा अवरोध नपु¥याउने गरी महोत्सव गर्न मैदान उपलब्ध गराउने सहमति वैशाख ११ मा दिएका हुन् । तर, प्रशासनले शान्ति सुरक्षा दिन असमर्थ बनेपछि महोत्सव अन्योलमा परेको छ ।
महोत्सवको आयोजक क्लबका पदाधिकारीहरूले शान्ति सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रजिअ अर्यालले शान्ति सुरक्षा दिन नसक्ने बताएको क्लबका अध्यक्ष राजिव यादवले बताए ।
उनले भने, ‘हामी प्राचीन सलहेश महोत्सवलाई भव्य रूपमा आयोजना गर्ने तयारीमा जुटिरहेका छौँ । तर सिडिओ साहेवले शान्ति सुरक्षा दिन नसक्ने भनेर सिधा इन्कार गर्नुभयो ।’
प्रशासनले लिखित रूपमै शान्ति सुरक्षा दिन नसक्ने पत्र काटेको उनको भनाई छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले महोत्सव आयोजना गर्ने समय अनुकूल नरहेको सिरहा नगरपालिकालाई पत्राचार गरेका छन् । पत्रमा भनिएको छ, ‘…महोत्सव आयोजना गर्नका लागि अनुमति माग गरिएकोमा हालको अवस्थालाई विश्लेषण गर्दा अनुकूल समय नभएको भनी सुरक्षा निकायको छलफलको निष्कर्ष रहेकोले अनुमति दिन नसकिने ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’
सिरहाको व्यापार व्यवसाय तथा स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागेको स्थानीय युवा रविन्द्र साह बताउँछन् ।
‘तर प्रशासनले नै असहयोग गरेपछि दु:ख लागेको छ,’ उनले भने । सीडीओले शान्ति–सुरक्षा कायम गर्न नसकेको भनेर आफ्नै असक्षमता प्रदर्शन गरेको उनले टिप्पणी गरे । शान्ति सुरक्षा दिन नसके सिडिओविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।