
जनकपुरधाम : ‘प्रेस स्वतन्त्रता कुनै उपहार होइन, यो निरन्तर संघर्षबाट सुरक्षित गरिनुपर्ने अधिकार हो ।’ यस्तै चेतावनीसहित आज जनकपुरधाममा पत्रकारहरू बिहानै सडकमा उत्रिए ।
मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रभातफेरी र पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर आयोजना गर्यो । कार्यक्रममा जिल्लाभरिका सञ्चारकर्मीहरू, महासंघका पदाधिकारी तथा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रह्यो ।
‘नयाँ साहसिक विश्वमा पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमताको प्रभाव’ भन्ने नाराका साथ प्रभातफेरी महासंघको कार्यालयबाट सुरु भई रामचोक, सोनारपट्टी, जानकी मन्दिर, जनक चौक हुँदै पुनः महासंघ कार्यालयमै पुगेर समापन भयो ।
प्रभातफेरीका क्रममा सहभागीहरूले पत्रकारिता माथिको राजनीतिक, आर्थिक तथा प्रविधिजन्य हस्तक्षेपप्रति आक्रोश प्रकट गर्दै स्वतन्त्र र उत्तरदायी पत्रकारिताको वातावरण निर्माणको माग गरे ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकारहरूको सुरक्षा, गरिमा र स्वतन्त्रताको सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।
महासंघले प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको सहयोगमा स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गर्यो । शिविरमा बीएमआई, मधुमेह, रक्तचाप, मृगौला कार्यक्षमता परीक्षणका साथै महिलाका लागि पाठेघर मुखको स्क्रिनिङ सेवासमेत उपलब्ध थियो ।
अध्यक्ष गुप्ताका अनुसार, ‘पत्रकारहरू अस्थिर र उच्च जोखिमयुक्त कार्यशैलीमा खटिने भएकाले नियमित स्वास्थ्य परीक्षण अपरिहार्य छ ।’