जनकपुरधाम : बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारमाथि प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको आरोप लागेको छ । मौखिक आदेशको भरमा कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले आरोप लगाएका हुन् ।

गत वैशाख १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुव्र्यवहार गरेको अधिकृत जयसवालले बताएका छन् । कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् ।

सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् । आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाइ शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्ट्याएको थियो । तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएको जयसवालको आरोप छ ।

त्यसै गरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दबाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत जैसवालले बताएका छन् ।

गत वैशाख १६ गते बिहान १० बजे मेयर कलवार र सिम्रौनगढ समारोहकी अगुवा ममता शर्माले पटक–पटक फोन गरेर सरसल्लाह गर्न भन्दै आफूलाई मेयरको निवासमा बोलाएको जैसवालको भनाई छ । मेयरसँग छलफल गर्न उनको घरमा जाँदा शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको उनको आरोप छ । ‘बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने ?’ भन्ने जवाफ दिएपछि मेयर कलवार र उनका समर्थकले आफूलाई अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताए ।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले पनि मेयर कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन् । उनले मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बताइन् ।

यस विषयमा मेयर किशोरी प्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको