
जनकपुरधाम : दाइजोमा मागिएको मोटरसाइकल समयमा नदिएको भन्दै महोत्तरीकी १८ वर्षीया एक युवतीको हत्या गरिएको आरोप लागेको छ ।
मृतक ज्योती साह, महोत्तरीको पिपरा गाउँपालिका–६, रतौली निवासी लक्ष्मी साहकी छोरी हुन् । करिब सात महिनाअघि उनको विवाह जनकपुरधाम उपमहानगरपालिका–१३, पीडारीका किसन साह (२१ वर्ष)सँग भएको थियो ।
एक साता पहिले मात्र माइतीबाट ससुराल गएकी ज्योती जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत अवस्थामा भेटिइन् । परिवारका अनुसार उनलाई घरमै कुटपिट गरेर झुण्ड्याइएको हो ।
विवाहको बेला ससुरा पक्षले दाइजोमा मोटरसाइकल लिने सहमति जनाए पनि सात महिनासम्म नपाएपछि किसनले ज्योतीलाई कुटपिट गरी हत्या गरेको परिवारजनको आरोप छ ।
ज्योतीको पेटमा तीन महिनाको गर्भ रहेको परिवारले जनाएको छ । शवको प्रकृति हेर्दा कन्चटमा चोट, हात भाँचिएको र अन्य चोटपटक देखिएको जनाइएको छ ।
शव झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइसकेपछि मात्रै माइती पक्षलाई खबर गरिएको माइती पक्षको आरोप छ ।
माइती पक्षले आर्थिक अवस्था कमजोर भएकाले तत्काल मोटरसाइकल दिन नसकेको तर दुई वर्षभित्र दिने वाचा गरिएको बताएका छन् । सोही विषयलाई लिएर घरमा बारम्बार झगडा हुने गरेको र अन्तत: हत्या गरिएको आरोप उनीहरूको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।