जनकपुरधाम : नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा परेर ५ जना नेता कार्यकर्ता घाइते समेत भएका छन् ।
झडपमा परी घाइते हुनेहरुमा एमाले धनुषाको अध्यक्षमा उम्मेदवारी दिएका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । दुवैको टाउकोमा चोट लागेको छ ।
निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि समेत कुटपीट भएको छ ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार समेत गरे ।
भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ ।
गत वैशाख २० गतेदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
एमाले धनुषाको अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
सोमबारसम्म अध्यक्ष पदका लागि पाँचजनाले चासो देखाए पनि अन्ततः दुई उम्मेदवार—भोला यादव (महासेठ पक्ष) र लक्ष्मीनारायण यादव (अरगरिया समूह)—ले मात्र उम्मेदवारी दर्ता गरे। प्रतिनिधिहरूका अनुसार, रघुवीर र जुली महासेठले जिल्लाका दुई क्षेत्र कब्जा गरिसकेको अवस्थामा अरगरिया समूह पराजित हुने देखिएपछि विवाद चर्किएको हो ।
प्रतिस्पर्धाले एमालेभित्रको गहिरो गुटबन्दीलाई सतहमा ल्याएको र यसले पार्टीभित्र गलत नजिर बसालिरहेको भन्दै प्रतिनिधिहरू चिन्तित छन् ।
अधिवेशन प्रक्रियामा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको भूमिका स्पष्ट नभएको भन्दै उनीविरुद्ध नाराबाजी भएको थियो। श्रेष्ठले निष्पक्षता देखाउन नसकेको प्रतिनिधिहरूको आरोप छ ।
विवादका कारण मंगलबार पनि मतदान प्रक्रिया अगाडि बढ्न सकेको छैन। प्रतिनिधिहरूका अनुसार, विना परिचयपत्रको सभाहल प्रवेशमा निषेध गरिएको थियो । लक्ष्मीनारायण पक्ष धर्नामा बसेका थिए भने भोला यादव पक्ष भने मतदान सुरु गर्न माग गर्दै नारावाजी गरेका थिए ।
उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ । उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवारी दिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
निर्वाचन र पक्रियामा आफना आसेपासे मात्र भाग लिएर नेतृत्वमा आओस भन्ने मनसायले धेरै जेनुन क्रियाशिल युवाहरु सदस्यताबाट बञ्जित गरिएको गुनासो एमाले भित्रै छ । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’सहितका नेताहरूको धार छ । दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
यता नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिएको छ । दुई पक्षबीच विवाद बढ्दै गएपछि झडपमा परिणत हुँदा अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो ।
झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ । भोला यादव रघुवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षका हुन् ।

