वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् । घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सवारीसाधन तोडफोड भएको छ ।
नं. १३ गण पर्साका अनुसार मिति २०८२ माघ २६ गते बिहान करिब १०:३० बजे विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाई-छिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो ।
एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे.क्वा. पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना साथै वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जनाको संयुक्त टोली परिचालित थियो ।
सामान लोड गर्ने क्रममा स्थानीय २०-२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ ।
ढुंगामुढाबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ । एपीएफको स्कार्पियोमा पनि क्षति पुगेको बताइएको छ ।
स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको र उनको मोबाइल फोन खोसेर लगिएको, सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको तथा नं. १३ गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको छ ।
सुरक्षा टोलीमाथि आक्रमणमा संलग्नको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसाग समन्वय भइरहेको जनाइएको छ ।

