भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्व कप्तान रोहित शर्मा र विराट कोहलीलाई ठूलो झड्का दिएको छ। बोर्डले २०२५–२६ सिजनका लागि सोमबार जारी गरेको खेलाडीहरूको सेन्ट्रल कन्ट्र्याक्ट लिस्टमा दुवै स्टार खेलाडीलाई ‘ए प्लस’ ग्रेडबाट घटुवा गरेर सिधै ‘ग्रेड बी’ मा झारेको छ।
बीसीसीआईले यसपटक शीर्ष मानिने ‘ए प्लस’ ग्रेड नै खारेज गरेकोले खेलाडीहरूको वरीयतामा ठूलो फेरबदल भएको हो। अघिल्लो वर्ष ‘ए प्लस’ ग्रेडमा रहेका रोहित, विराट, जसप्रीत बुमराह र रवीन्द्र जडेजा मध्ये बुमराह र जडेजालाई भने ‘ग्रेड ए’ मा राखिएको छ। टेस्ट र एकदिवसीय टिमका कप्तान शुभमन गिल ‘ग्रेड ए’ मै यथावत् छन्।
रोहित र कोहलीलाई तल्लो ग्रेडमा झार्नुको मुख्य कारण उनीहरूले खेल्ने सीमित फर्म्याटलाई मानिएको छ। यी दुवै दिग्गज खेलाडीले हाल एकदिवसीय क्रिकेट मात्र खेलिरहेका छन्। गत वर्ष टी–२० विश्वकप जितेपछि उनीहरूले टी–२० इन्टरनेसनलबाट संन्यास लिएका थिए भने मे २०२४ मा टेस्ट क्रिकेटबाट पनि बिदा भइसकेका छन्।
नयाँ सम्झौता अनुसार बीसीसीआईले खेलाडीलाई ए, बी र सी गरी तीन ग्रेडमा विभाजन गरेको छ। पुरुषतर्फ कुल ३० खेलाडीलाई सम्झौतामा समेटिएको छ। जसमा ग्रेड ए मा ३, ग्रेड बी मा ११ र ग्रेड सी मा १७ खेलाडी छन्।
‘ग्रेड बी’ मा टी–२० कप्तान सूर्यकुमार यादवसहित १० अन्य खेलाडी अटाएका छन्। गत वर्ष ग्रेड ए मा रहेका केएल राहुल, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र ऋषभ पन्तलाई पनि ग्रेड बी मा घटुवा गरिएको छ। बी ग्रेडमा कुलदीप यादव, यशस्वी जायसवाल, वासिङ्टन सुन्दर र श्रेयस अय्यरले पनि स्थान बनाएका छन्।
यस्तै युवा खेलाडीहरूले भरिएको ‘ग्रेड सी’ मा तिलक वर्मा र रिंकू सिंहसहित १७ खेलाडीलाई राखिएको छ। यस ग्रेडमा शिवम दुबे, सन्जु स्यामसन, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, आकाश दीप, ध्रुव जुरेल, हर्षित राणा, वरुण चक्रवर्ती, नितिश कुमार रेड्डी, अभिषेक शर्मा, साई सुदर्शन, रवि बिश्नोई र ऋतुराज गायकवाड अटाएका छन्।
अलराउन्डर अक्षर पटेललाई भने घटुवा गर्दै सी ग्रेडमा झारिएको छ भने अनुभवी बलर मोहम्मद सामीलाई कन्ट्र्याक्ट लिस्टबाटै बाहिर राखिएको छ।
महिलातर्फ पनि बोर्डले २१ खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा समावेश गरेको छ। महिलातर्फ कप्तान हरमनप्रीत कौर, स्मृति मन्धाना, जेमिमा रेड्रिग्ज र दीप्ति शर्मा ‘ग्रेड ए’ मा पर्न सफल भएका छन्।
ग्रेड बी मा रेणुका ठाकुर, शेफाली वर्मा, ऋचा घोष र स्नेह राणा छन् भने ग्रेड सी मा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने क्रान्ति गौड र काश्वी गौतम जस्ता नामहरू समावेश छन्।
बीसीसीआईले नयाँ ग्रेडिङ मोडल सार्वजनिक गरे पनि तलब संरचनाबारे भने अहिलेसम्म केही खुलाएको छैन। केही दिन अघि तलब संरचना परिवर्तन हुने चर्चा चले पनि यसबारे आधिकारिक घोषणा भएको छैन।
गत वर्ष ए प्लस ग्रेडका खेलाडीले ७ करोड, ग्रेड ए ले ५ करोड, ग्रेड बी ले ३ करोड र ग्रेड सी ले १ करोड भारु वार्षिक रूपमा पाउने गरेका थिए।

