जनकपुरधाम ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति युवाहरूको आकर्षण बढ्दै गएको देखिएको छ । पछिल्ला केही दिनयता धनुषा ३ मा निरन्तर रूपमा युवा र विभिन्न क्षेत्रका व्यक्तिहरू रास्वपामा प्रवेश गरिरहेका छन् ।
यसै क्रममा आलु–प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष सुरज साह र उद्योग वाणिज्य संघ जनकपुरधामका कार्यकारिणी सदस्य दुर्गेश साह पनि रास्वपामा प्रवेश गरेका छन्। रास्वपाले अघि सारेको परिवर्तनको अभियानलाई सघाउने उद्देश्यले आफूहरू पार्टीमा आबद्ध भएको उनीहरूले बताएका छन् ।
त्यसैगरी आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुरा चोक तथा वडा नम्बर १ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एक सयभन्दा बढी युवाहरू रास्वपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई रास्वपाका प्रवक्ता तथा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाले स्वागत गरेका थिए । उनले रास्वपाले अघि बढाएको परिवर्तनको अभियान जन–जनमा पुगिरहेको र पार्टी प्रवेश गर्नेहरूको बढ्दो लहरले त्यसको पुष्टि गरिरहेको बताए ।
युवाहरूमा देखिएको उत्साह र समर्थनले परिवर्तनको अभियानलाई थप बल पुग्ने विश्वास उनले व्यक्त गरे ।

