डेली समाचारदाता
जनकपुरधाम, चैत ५ गते ।
जनकपुरधाम सहित अधिकांश स्थानमा बजार व्यवसाय सुनसान देखिएको थियो । राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट टोली आएको हल्ला चलेपछि जनकपुरधाम बजार सुनसान देखियो ।
कोरोनाको कारण लकडाउन गरिएपछि थलिएको व्यवसाय पुनः आफ्नो लयमा फर्कदै गर्दा राजश्व कार्यालयबाट छापा मार्न टोली आएको हल्ला फैलिएसँगै जनकपुरधामको बजार व्यवसाय बन्द भएको छ । अधिकांश सटरहरुमा ताल्चा लगाइएको छ भने केहि पसलहरु मात्र सञ्चालनमा रहेको थियो ।
यसअघि पनि धनुषाको महेन्द्रनगर, महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै पसल तथा व्यवसाय बन्द गरेका थिए । जनकपुरधामका व्यापारीहरु समेत हल्लाकै भरमा पसल बन्द गरेका छन् ।
विद्यापति चोक, रामानन्द चोक, पिडारी चोक, भानुचोक, शिवचोक, जानकीचोक, रामचोक, लगायतका ठाउँहरुको अधिकांश पसलहरु बन्द गरिएको छ ।
यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले व्यापारीहरुले हल्लाकै भरमा स्वयं आ–आफ्नो पसल बन्द गरेको बताए । उनले बजार अनुगमन सम्बन्धमा आफूहरुलाई पनि कुनै आधिकारीक जानकारी नआएको बताए । साथै उनले ढुक्क भएर आफ्नो पसल सञ्चालन गर्न आग्रह गरेका छन् ।
यता राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले आफुहरुको कुनै टोली जनकपुरधाम नगएको जनाएको छ ।