डेली समाचारदाता
काठमाडौँ, माघ १३ गते ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णय बिरुद्ध नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार माघ १९ गते देशैभर भातृ संस्थाहरूको नेतृत्वमा सरकारविरूद्ध प्रदर्शन हुने निर्णय भएको छ । यस्तै माघ २४ देशभर शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने पनि निर्णय भएको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ ३० गते जिल्ला कार्यसमितिको नेतृत्वमा आ–आफ्नो जिल्लामा प्रदर्शन हुनेछ ।
यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ ।
माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ । यसअघि कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह र गाउँरनगरका वडामा प्रदर्शन गरेको थियो । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउनुपर्ने बताइरहेको छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।