जनकपुरधाम:उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नका लागि मुलुकमा भौतिक विकासको क्षेत्रमा काम हुनु आवश्यक रहेको बताएका छन् । एमालेको क्षिरेश्वरनाथ नगरपालिकाको नगर कमिटीले होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री महासेठले आफूले सोही नारा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
एमाले अध्यक्ष एवंं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्नका लागि पार्टीले आफूलाई जिम्मेबारी दिएरै सरकारमा पठाएको बताउँदै मन्त्री महासेठले यो नारा पूरा गर्नका लागि भौतिक क्षेत्रमा विकास गर्नका लागि काम गर्ने बताए ।
“भौतिक पूर्वाधारको विकासबिना देश समृद्धितर्फ जानसक्दैन ’ नेता महासेठले भने,–‘त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो ।’ ‘हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौं’ उनले भने–‘पूर्वाधारको काम धेरै अधुरा रहेको र कति जिर्ण भइसकेकाले सरकारको प्राथमिकतामा रहेको छ ।’
कार्यक्रममा एमालेको प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, पूर्वमन्त्री जुली महतो, प्रदेशसभा सदस्यद्वय दीपेन्द्र ठाकुर, लखन दास, पूर्व प्रदेशसभा सदस्य हरिनारायण महतो, एमाले जिल्ला अध्यक्ष अध्यक्ष राजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।