कैलाली: पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूसँग शनिवार बालुवाटारमा छलफल गर्दै उक्त प्रस्ताव गरेको बुझिएको छ । सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच मन्त्री छन् ।
प्रधानमन्त्रीले सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गरेको र यस विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने बताएको छलफलमा रहेका नाउपाका एक नेताले जानकारी दिए । ‘उहाँले हामीलाई सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गरेको’, ती नेता भने, ‘यस विषयमा प्रधानमन्त्रीले आफूले गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने बताए ।’
सुदूरपश्चिममा नागरिक उन्मुक्तिको साथविना नयाँ गठबन्धनको सरकार बन्ने सम्भव छैन । प्रधानमन्त्री भेट्न पुगेका नाउपाका नेताहरूले सुदूरपश्चिममा मात्र नभई लुम्बिनी र मधेश प्रदेशमा पनि आफूहरूको प्रतिनिधित्व रहेको भन्दै त्योअनुसारको उपस्थिति हुनुपर्ने बताएका थिए ।
‘कैलालीमा हामी पहिलो दल छौं, लुम्बिनी र मधेशमा पनि हाम्रा सांसदहरू हुनुहुन्छ । केन्द्रमा पनि हाम्रो उपस्थिति छ । त्यहीअनुसारको हाम्रो मूल्याङ्कन हुनुपर्छ’, ती नेताले प्रधानमन्त्रीलाई भनेको कुरा उल्लेख गर्दै भने, ‘हामीले हाम्रो सम्मानजनक उपस्थिति भए नयाँ गठबन्धनको सरकारमा सहभागी हुने बतायौं ।’
प्रधानमन्त्री प्रचण्डले नाउपाका नेताहरूलाई नयाँ गठबन्धनबारे धारणासमेत लिएका थिए । ‘नयाँ गठबन्धनप्रति तपाईंहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौं । सरकारमा सामेल हुनुहोस् । अझै सहकार्य गरेर जाऔं’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अर्का नेताले भने ।
शनिबारको छलफलपछि सरकारमा सहभागी हुने बाटो खुलेको नाउपाका नेताहरूको बुझाइ छ । पार्टी अध्यक्ष श्रेष्ठ सुरुबाटै एमाले–माओवादी नेतृत्वको नयाँ गठबन्धनमा सहभागी हुन चाहेको तर, उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन थालेपछि उनीहरूबीच तिक्तता आएको थियो ।
अहिले केन्द्रमा नयाँ गठबन्धनमा सहभागी हुनेबारे केन्द्रीय अध्यक्षसहितका नेताहरूले छलफल गर्दा रेशम चौधरी जापानमा छन् । केन्द्रमा नयाँ गठबन्धनलाई साथ दिने गरी नाउपा अघि बढेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने आफ्नो सरकारले विश्वासको मत पाउने विश्वासमा छन् ।