
काठमाडौं:भारतको आम निर्वाचन अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा हुन लागेको छ । निर्वाचनको पहिलो चरणको मतदान अप्रिल १९ मा हुँदै छ । भारतका २१ राज्य तथा संघीय क्षेत्रमा गरी १०२ सिटका लागि हुने मतदानमा एक हजार ६२५ उमेदवार प्रतिस्पर्धामा रहनेछन् ।
एक निजी निर्वाचन अनुगमन समूह ’एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)’ले पहिलो चरणका तीनमध्ये एक उमेदवार करोडपति रहेको जनाएको छ । यस्तै, उसले धेरै उमेदवारको सम्पत्ति शून्य रहेको समेत उल्लेख गरेको छ ।
पहिलो चरणका ४५० उमेदवार करोडपति छन् । जसमा भारतीय जनता पार्टी (भाजपा)का ६९ जना र भारतीय राष्ट्रिय कांग्रेसका ४९ जना छन् । भाजपाका उमेदवारको औसत सम्पत्ति २२.३८ करोड भारतीय रुपैयाँ रहेको छ । कांग्रेसका उमेदवारको औसत सम्पत्ति २७.७९ करोड छ । एडीआरको विश्लेषणका अनुसार १६ प्रतिशत (करिब २५२ उमेदवार) अपराधिक मुद्दामा जोडिएका छन् । यस्तै, १० प्रतिशत (१६१ जना) गम्भीर अपराधिक मुद्दामा जोडिएका छन् ।
यसबाहेक सात उमेदवार हत्या आरोपमा र १९ हत्या प्रयासमा संलग्नहरू रहेको डरलाग्दो तथ्यांक देखिएको छ । अठार जना महिलाविरुद्धको आरोप र एकजना बलात्कारको मुद्दा सामना गरेका व्यक्तिसमेत उमेदवार रहेको एडीआरको तथ्यांक छ ।
१८औँ लोकसभाको निर्वाचनबाट ५४३ सदस्य चयन हुनेछन् । ४४ दिनसम्म चल्ने भारतको आम निर्वाचन विश्वकै सबैभन्दा ठूलो चुनाव हो । भाजपा, कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय जनता पार्टी र आम आदमी पार्टीलगायतका पार्टी चुनावमा छन् ।
पहिलो चरणमा अरुणाञ्चल, आसाम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, र केन्द्र शासित प्रदेश अन्डमान र निकोबार टापुहरू, जम्मू र कश्मीर, लक्षद्वीप र पुडुचेरीमा निर्वाचन हुँदै छ ।
निर्वाचनका थप ६ चरणहरू अप्रिल २६, मे ७, मे १३, मे २०, मे २५ र जुन १ मा तोकिएको छ । जुन ४ सम्म निर्वाचनको नतिजा आइसक्ने बताइएको छ । निर्वाचनमा बहुमत ल्याउने वा पहिलो दलले गठबन्धनको सरकार बनाउनेछ ।