जनकपुरधाम:मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पत्रकार धेरै नै ताकतवार रहेको कटाक्ष गर्दै जे पनि गर्न सक्ने बताएका छन् ।
शुक्रवार नेपाल पत्रकार महासंघ धनुषा शाखाको १३ औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख मण्डलले भने पत्रकार धेरै ताकतवर हो, जसले सत्यलाई झुठ र झुठ बनाई दिन सक्छ कटाक्ष गरे । उनले भने पत्रकारले चाहेमा तीलको तार, राईको पहाड र मन नपरेका कुरालाई भ्रुणमा हत्या गर्न सक्छन् । यति ताकतवार हो पत्रकार ।
सभामुख मण्डलले अहिले पत्रकारिता पनि चाटुकारिता भइसकेको भन्दै आर्थिक प्रलोभनमा झुठो कुरालाई पनि सत्य शैलीमा प्रस्तुत गर्ने, सत्यलाई बग्याएर झुठ बनाइ दिने र लाभ लिन सक्ने अगाडि जी हजुरी गर्ने प्रवृति बढेको छ । पत्रकारिताको मर्यादा बचाउन यसको अन्त्य हुनुपर्छ ।
शाखा अध्यक्ष मनिका झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय प्रतिनिधि महासचिव दिपेन्द्र चौहान, प्रदेश अध्यक्ष राजेशकुमार कर्ण, प्रदेश सभा सदस्य रामआशिष यादव, उपमेयर किशोरी साह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।
महासंघ धनुषा शाखाले अधिवेशनको अवसरमा चार जना वरिष्ठ पत्रकारहरूलाई ’ दिर्घ पत्रकारिता सेवा सम्मान’ बाट सम्मानित समेत गरेको छ । सम्मानित हुनेहरूमा वरिष्ठ पत्रकार चन्देश्वर गिरि, बिएम खनाल, शंकरलाल श्रेष्ठ र अशोक रौनियार रहेका छन् ।
सो अधिवेशनमा सचिव बटुकनाथ झा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजकमल सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । अधिवेशनमा शाखाका साधारण सदस्य, महासंघका केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु र संघीय परिषद सदस्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।