जनकपुरधाम:हरवा चरवाको न्यायिक पुनः स्थापनाको मागसहित जनकपुरधाममा तेस्रो राष्ट्रिय हरवा चरवा सम्मेलन शुरु भएको छ ।
मधेश प्रदेशका ८ वटै जिल्ला हरवा चरवाहरुको भोग्नु परिरहेको समस्या र सोको समाधानका उपायहरुको खोजीको उद्देश्यका साथै नयाँ नेतृत्व चयन गर्नका लागि राष्ट्रिय सम्मेलन हुँदैछ । हरवा चरवाहरुले भूमि, छोरा छोरीको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षा सहितको माग गर्दै विगत केही वर्षदेखि अगाडी सार्दै आई रहेका छन् ।
दलित जनकल्याण युवा क्लब लहानको सहयोगमा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चको आयोजनामा शुरु भएको हरवा चरवाको राष्ट्रिय सम्मेलनको उद्घाटन मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले गरेका छन् । सम्मेलनको उदघाटन गर्दै मन्त्री न्यौपानेले हरवा चरवाहरुको लगत संकलन चाँडै नै शुरु हुने जानकारी दिए । यसका साथै मधेस प्रदेशमा वसोवास गर्ने हरवा चरवाहरुको हकहितका लागि विभिन्न योजना ल्याउने प्रदेश सरकारको निति तथा कार्यक्रममै शामिल गरिएको उनले बताए ।
सम्मेलनमा सहभागी हुनका लागि ८वटै जिल्लाबाट २ हजार सहभागी भएका छन् भने बन्द सत्रमा ८० जना प्रतिनिधिहरुको सहभागिता रह्ने मञ्चका महासचिव लागेन्द्र सदाले बताए ।
हरवा चरवाको मुक्ति अभियानमा सम्बन्धित सबै निकायले सहयोग पुर्याउनु आवश्यक रहेको कानून व्यवसायी बालाराम भट्टराईले जानकारी दिए । हरवा चरणको मुक्ति नेपाल सरकारले गरेपनि यो समुदायको न्यायिक पुनर्स्थापनाका लागि राहत, पुनर्स्थापना सहितको क्षेत्रमा कुनै काम नगरेको गुनासो भट्टराईले बताए ।
तेस्रो राष्ट्रिय हरवा चरवा सम्मेलनले मञ्चका लागि नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ । यस अघि ब्यानर सहित जनकपुरधामको गोपाल धर्मशालाबाट राष्ट्रिय हरवा चरवा अधिकार मञ्चकाको ब्यानरमा नारा जुलुस सहित जनकपुर नगरभरि परिक्रमा गरिएको थियो ।