सम्झौताको हिसाबले नेपालले पायो शुन्य

जनकपुरधाम:कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने भ्रमण सकाएर स्वदेश फर्किसकेका छन् । भ्रमणका दौरान कतार र नेपालको बिचमा विभिन्न आठ बुँदे सम्झौता भएका छन् ।

सम्झौतामा शिक्षा, सञ्चार, कूटनीति, व्यापार, कला संस्कृति, युवा तथा खेलकुद, न्युज एजेन्सीलगायतका विषय रहेका छन् । तर, त्यसमा अपेक्षा गरिएको श्रमसम्बन्धी कुनै पनि बुँदा समावेश नहुँदा सम्झौता नै खल्लो भएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

कतारसँग नेपालको श्रमिक सम्बन्ध बलियो रहेको छ । नेपालका हजारौँ युवा कतारमा अहिले पनि कार्यरत छन् । त्यसका लागि विगतमा विभिन्न सम्झौताहरू भएका थिए । तर कतारका राजा स्वयं नेपाल आइसकेपछि त्यसको बारेमा चर्चा पनि नहुनु खल्लो भएको टिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले श्रम सम्बन्धी सम्झौता नभए पनि कतारी राजासँग त्यो विषयमा गम्भीर छलफल भएको बताए । बुधवार बिहान प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबिच वान टू वान वार्ता हुँदा नेपाली श्रमिकका विषयमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले कतारका राजासँग नेपाल र कतारबिच रहेको श्रम सहकार्यको क्षेत्रलाई अगामी दिनमा कसरी विस्तार गर्ने विषयमा कुराकानी भएको सल्लाहका सापकोटाले जानकारी दिए । श्रम सहकार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनले बताए । कतारी राजाको नेपाल भ्रमण उपलब्धिमूलक रहेको र यसले दीर्घकालीन सम्बन्धलाई अझ बलियो बनाएको उनले दाबीसमेत गरे ।

परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले मध्यपूर्वको महत्त्वपूर्ण देशमध्ये एक कतारका राजाले पहिलो पटक नेपालको भ्रमण गर्नु आफैँमा ऐतिहासिक कुरा रहेको बताए । कुनै पनि स्टेटका प्रमुखले अर्को स्टेटको भ्रमण गर्नु आफैँमा उपलब्धिमूलक नै भएको उनको विश्लेषण छ ।

तर त्यो भ्रमणबाट दुवै देशलाई के फाइदा हुन्छ त्यसलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए । उनले भने, ‘आज भएका विभिन्न सम्झौताबारे मैले अध्ययन गर्न पाएको छैन तर अहिलेको प्रमुख मुद्दा विपिन जोशीको रहाइ हो । उनको रिहाइका लागि नेपालले कतारका राजालाई कसरी कन्भिन्स ग¥यो त्यो मुख्य कुरा हो ।’

हमासको कब्जामा विपिन जोशी रहेको कुरा पुष्टि हुँदा हुँदै उनलाई रिहा गराउन नसक्नु कूटनीतिक कमजोरी रहेको उनको बुझाई छ । हमासका नेता कतारमा बसिरहेका छन् भने त्यहाँ गएर पनि उनीहरूसँग भेटेर कुराकानी गर्न सकिने अवसर रहे पनि नेपाल भने चुकेको उनले बताए । विपिनलाई रिहा गराउन सके यो भ्रमणको उपलब्धिको रूपमा लिन सकिने उनले बताए ।

यस्तै बुझाइ पूर्वराजदूत एव परराष्ट्र विज्ञ विजयकान्त कर्णको पनि छ । कूटनीतिक हिसाबले कतारी राजाको भ्रमण सफल भए पनि विकास निर्माण तथा सहकार्यको विषयमा कमजोर देखिएको बताए ।

‘अरब देशबाट धेरैपछि यस्तो उच्च स्तरीय भ्रमण भएको हो । यो भ्रमणलाई राम्रो मान्न सकिन्छ,’ राजा पनि खुसी भएर गएको बताउँदै उनले भने, ‘पछिल्लो समय कतारले मध्यपूर्वमा फैलिएको द्वन्द्वमा शान्तिका लागि खेलेको भूमिका सराहनीय छ ।’

तर नेपाल र कतारबिच भएको सम्झौताले भ्रमणलाई खल्लो बनाएको बताउँदै उनले विकास निर्माण, आर्थिक सम्झौता लगायतको विषयमा यो भ्रमणलाई उपलब्धिमूलक मान्न नसकिने बताए । ‘नेपालले लगानी सम्मेलनको तयारी गरिरहेको छ । यस्तो अवस्थामा एउटा कुनै क्षेत्रमा लगानीको घोषणा गरेर गएको भए पनि हुन्थ्यो । तर त्यस्तो पनि देखिएन,’ उनले भने ।

‘कतारको विकास निर्माणमा नेपालको ठुलो भूमिका छ, त्यहाँ ३ लाखभन्दा बढी नेपाली कार्यरत छन् । त्यसको बारेमा पनि केही ठोस सम्झौता भएको भए नेपालीहरू खुसी हुन्थे । तर छलफलको एजेण्डामा पनि श्रम नपर्नु भनेको भ्रमणलाई उपलब्धिको रूपमा लिन सकिँदैन,’ उनले भने, ‘यो भ्रमणले दुई देशको सम्बन्धलाई बलियो बनाएको कुरामा चाहिँ खुसी हुने ठाउँ छ ।’

परराष्ट्र मामिलाका जानकार एवं पूर्वराजदूत नीलाम्बर आचार्यले भने यो उच्चस्तरीय भ्रमणले कतार र नेपालको सम्बन्ध बलियो रहेको कुराको पुष्टि भएको बताए । ‘विकास निर्माण तथा अन्य सहकार्यका लागि हुने सम्झौताहरू फरक कुरा हो । मुख्य कुरा दुई देश बिचको सम्बन्ध हो,’ उनले भने, ‘हरेक भ्रमणमा सम्झौता हुनैपर्छ, लगानी आउनै पर्छ भन्ने होइन । भ्रमण कस्तो मैत्रीपूर्ण तथा सौहाद्रपूर्ण रह्यो, त्यो पनि मुख्य हुन्छ । त्यस हिसाबले कतारी राजाको भ्रमण सफल भएको छ ।’

नेपालका लागि कतार श्रम गन्तव्य मुलुक रहेको बताउँदै पूर्वराजदूत आचार्यले कतार बनाउन नेपालले योगदान गरे जस्तै कतारले पनि रोजगार र आर्थिक आय आर्जनमा सहयोग पु¥याइ रहेको बताए ।

श्रम गन्तव्य देश भएका कारणले श्रमसम्बन्धी केही सम्झौताहरू हुनुपर्ने भए पनि यो भ्रमणमा त्यस्तो केही नदेखिएको बताउँदै उनले एउटै भ्रमणमा सबै सम्झौता हुनुपर्छ भने जरुरी नरहेको स्पष्ट पारे । बाँकी रहेका विषयमा पछि पनि छलफल गरेर सम्झौता गर्न सकिने उनको जिकिर छ ।

श्रम सम्झौता नहुनुमा तयारी नपुगेको हो जस्तो आफूलाई लागेको बताउँदै उनले यस्ता उच्च स्तरीय भ्रमणहरू हुन लाग्दा त्यसमा हुने सन्धि सम्झौताहरूको बारेमा पहिलादेखि नै तयारी थालनी हुनुपर्ने बताए । ‘सायद त्यसमा कहीँ त्रुटि भएको हो कि जस्तो लागेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको