जनकपुरधाम:नेपाल आयल निगमले मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइनमार्फत ग्यास ल्याउने योजना अघि बढाएको छ ।

मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्नेबारे निगममा छलफल भइरहेको मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए ।

’पाइपलाइन विस्तार गर्ने निधो भइसक्यो । कार्यकारी निर्देशक ज्यूसँग कुरा गरेर यसलाई चाँडै अघि बढाउँछौं,’ उनले भने ।

मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई दिएको थियो ।

प्रतिवेदन आए पनि योजना अघि बढेको थिएन । नयाँ कार्यकारी निर्देशक आएसँगै यो परियोजनालाई निरन्तरता दिन खोजिएको हो ।

इण्डियन आयल कर्पोरेशनले दिएको प्रतिवेदन अनुसार मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको छ । सो लगानी साढे दुई वर्षमै उठ्ने यादब बताउँछन् ।

हाल भारतीय व्यवसायीका भारतीय बुलेटबाट नेपालतर्फ ग्यास ढुवानी भइरहेको छ । जसबाट महिनाको ५० करोडका दरले वार्षिक ६ अर्ब रूपैयाँ भारतीय व्यवसायीलाई निगमले ढुवानी बापत तिर्नुपर्छ ।

’ग्यास पाइपलाइन विस्तार भएमा ग्यास ढुवानी बापत हुने खर्च बचत हुन्छ । पाइपलाइनमार्फत ग्यास आउन थालेपछि यहाँका व्यवसायीले आफ्नै बुलेटबाट ग्यास ढुवानी गर्छन्। यसबाट निगमलाई चार अर्ब र व्यवसायीलाई दुई अर्ब बचत हुन्छ,’ उनले भने ।

सन् २०२४ जनवरीबाट इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मोतिहारीमा पाइपलाइनबाट ग्यास ल्याउन सुरू गरिसकेको छ । सर्लाहीमा निगमले ग्यास प्लान्ट बनाउन करिब १६ बिगाहा जमिन किनिसकेको छ ।

त्यहाँ तीन-तीन हजारका दरले कुल १५ हजार मेट्रिक टन क्षमताको तीन वटा ट्यांकी बन्नेछ। यसमा एक पटकमा ८ वटा बुलेट लोड गर्न सकिने यादवको भनाइ छ ।

यहाँ महिनामा ३१ लाख सिलिण्डर खपत हुँदै आएको छ । यो भनेको ४५ हजार ६ सय मेट्रिक टन ग्यास हो । यस हिसाबले वार्षिक पाँच लाख ४७ हजार दुई सय मेट्रिक टन ग्यास खपत हुन्छ ।

हाल मोतिहारी–अमलेखगञ्ज पाइपलानमार्फत डिजेल आइरहेको छ । उक्त पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ल्याउन पनि निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको