नाउपाको पावर शेयरिंग घट्यो

जनकपुरधाम:केन्द्रको सत्ता गठबन्धनसँग सुदूरपश्चिम प्रदेश सभामा स्पष्ट बहुमत नहुँदा त्यहाँ बलियो सरकार बन्न सकेको छैन । एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भए पनि उनको नियुक्तिको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा प्रश्न उठेको छ ।

सुदूरपश्चिमको सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक भए पनि यो नवोदित पार्टी आन्तरिक मतभेदका कारण दुई धारमा विभाजित छ । नाउपामा कसको निर्णय र निर्देशनले वैधानिकता पाउने भन्ने विवाद पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमाले–माओवादी गठबन्धनलाई पनि स्पष्ट बहुमत देखाउन कठिन भइरहेको छ । नउपाका २ सांसद मात्र यस गठबन्धनको पक्षमा देखिँदा बाँकी ५ सांसद कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन् ।

अध्यक्ष रञ्जिता चौधरी एमाले नेतृत्वको गठबन्धनको पक्षमा छिन् भने कांग्रेसतिर ढल्किने समूहको नेतृत्व रेशम चौधरीले गरिरहेका छन् ।

बझाङ–१ मा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामले भने अब नाउपा नहुँदा पनि एमाले, माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई सुविधाजनक अवस्था बनेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११, सभामुखबाहेक माओवादीका १०, एकीकृत समाजवादीका ४ गरी तीन दलसँग २५ सिट भएका छन् । स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी पनि यही गठबन्धनको पक्षमा उभिएका छन् । उनलाई समेत गन्दा सत्तापक्षमा २६ सांसद हुन्छन् ।

अब ७ सिट रहेको नाउपालाई फकाउनुपर्ने बाध्यता यस गठबन्धनसँग रहेन । एउटा मात्र सिट भएको राप्रपालाई मनाए बहुमत पुग्ने भएको छ ।

यसरी हेर्दा बझाङमा एमालेको जितले नाउपाको ‘बार्गेनिङ पावर’ घटेको छ । हिजो नाउपा निर्णायक छँदा कांग्रेस र एमाले दुवैतिरबाट मुख्यमन्त्रीको प्रस्ताव पाएको थियो । सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि नाउपामा एकमत हुन सकेन ।

अब उसले चाहेर पनि नेतृत्व पाउन सहज हुने छैन । किनभने, कांग्रेस नेतृत्वको गठबन्धनले हालको सत्ता गठबन्धनको कुनै घटकलाई नतानेसम्म सरकार बनाउने सामर्थ्य राख्दैन। तर, सत्ता गठबन्धनलाई नाउपा नभए पनि बहुमत प्रदर्शन गर्न सक्ने ठाउँ छ । सुदूरपश्चिम प्रदेश सभामा २७ सांसद भए बहुमत पुग्छ ।

त्यहाँ कांग्रेससँग १८ र नाउपासँग ७ सांसद छन् । नाउपा सिंगै कांग्रेसतिर लाग्दा पनि बहुमत पुग्न सक्दैन । अझै दुई सांसद आवश्यक पर्छन् । त्यसका लागि स्वतन्त्र र राप्रपाले साथ दिनुपर्ने हुन्छ । बरु सुदूरपश्चिममा राप्रपा निर्णायक भएर आउँदा उसैको ‘बार्गेनिङ पावर’ बढेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको