दल दर्ता अवैधानिक रहेको जसपा नेपालको कथन
जनकपुरधाम:निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो ।
आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित सङ्घीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ ।
यता जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक रहेको भनेको छ ।
आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।
सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।
‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’
आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।