जनकपुरधाम:सर्लाहीको बरहथवामा आत्महत्या गरेकी एक महिलाको घटनामा माइती पक्षले हत्या भएको आरोप लगाएका छन् ।
बरहथवा नगरपालिका वडा नम्बर ६ निवासी धरमविर महतोको श्रीमती अन्दाजी १९ बर्षिय आरती कुमारी महतो गएको चैत्र २४ गते आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । उक्त घटनामा यूवतीको मृत्यु नभई हत्या गरिएको माईती पक्षले दाबी गरेका छन् ।
हरिवन नगरपालिका वडा नम्बर १ भोक्टेनी माइती भएको मृत महिलाको एक बर्ष अगाडी मात्र बरहथवा निवासी २४ बर्षिय धरमविर महतोसँग समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहे पछि छोरीलाई थप दाईजो ल्याउन दवाव दिदै शरीरिक, मानसिक यातना दिनुको साथै शरिरिक शोषण समेत गर्दै आएको माइती पक्षको आरोप छ ।
मृतक युवतीको कान्छी बहिनी सुशिला कुमारी महतोले केटा लागुऔषध दुव्र्यसनी रहेको दाबी गर्दै थप दाइजोका दिदीलाई ताना दिदै आएको बताईन् । ‘दिदीको ससुराले रातिमा दिदीसँग खुटा थिच्न समेत बाध्य बनाउँदै आएको थिए, जुन एउटा कुनै पनि परिवारमा बुहारीका लागि अपाच्य कुरा हो’, बहिनी उनले भनिन् ।
दिदीको मृत्यू पछि आफूलाई अर्काे कोठामा बन्धक बनाएर राखेको र जति कराए, चिच्याए पनि आफूलाई दिदीसँग भेट्न रोक लगाएको बहिनी सुशिलाले बताईन् । ‘दिदीलाई झुण्डिएको अवस्थामा देख्नु, मेरो लागि भयानक दिन थियो, घटना भएपछि दिदीलाई एम्बुलेन्समा राखेर बरहथवा स्थित प्राथमिक स्वास्थ केन्द्रमा लगेको थियौँ । त्यसपछि भिनाजुले आफ्नो ३ जना साथी लगाएर मलाई आफ्नो अर्काे घरमा एक घण्टा बन्धक बनाएर राखेको र आफू जति चिच्याए, कराएपनि दिदीलाई राखेको अस्पतालमा जान नदिएको सुशिलाको भनाई छ ।
मृतक यूवतीका काका ज्ञानी महतोले भतिजिको ससुराली पक्ष धनी र राजनीतिक पहुँच भएका कारण घटना बारे प्रहरी समेत संवेदनशिल नभएको आरोप लगाए । यद्यपि प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले पति, सासु र ससुरा विरुद्व कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता नगरेपछि पिडित परिवारले आत्महत्या दुरुत्साहनमा इलाका प्रहरी कार्यलय, बरहथवामा किटानी जाहेरी दर्ता गराएका छन् ।
पति धरम विर महतो, ससुरा रंजित महतो र सासु शिला देवी समेत मिलि छोरी आरती कुमारी महतोलाई माईतीबाट दाईजो नल्याएको भनी शारिरीक र मानसिक यातना दिएर हत्या गरेको माइति पक्षले दिएको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यलय, बरहथवाले चैत्र २९ गते किटानी जाहेरी दर्ता गरी मृत महिलाको ससुरा रंजित कुमार महतोलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।