जनकपुरधाम:राजधानीमा यतिबेला चर्चामा छ–पशुपतिमा जारी कोटिहोमको । विभिन्न ११ वटा संघसंस्था आयोजक रहेको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा दैनिक भक्तजनको घुइँचो देखिन्छ ।

उक्त कोटिहोमको भइरहेको चर्चाका बिच यसबारे विभिन्न प्रश्न समेत उठ्न थालेको छ । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि भइरहेको महायज्ञमा ‘अनधिकृत’ कार्य भएको भन्दै सरकारी निकायबाटै प्रश्न उठाइएको हो ।

विश्वसम्पदा सूचीकृत र महत्त्वपूर्ण संरचनाको सङ्केत पाइएको क्षेत्रमा कोटिहोमका लागि अनधिकृत रुममा खाल्डो खनिएको विषयमा पुरातत्त्व विभागले सार्वजनिक रूपमा नै असन्तुष्टि पोखेको छ ।

पशुपति क्षेत्र विकास कोषलाई पत्राचार नै गरेर विभागले कोटिहोमका नाममा पशुपति क्षेत्रमा भएको अनधिकृत कार्य रोक्न निर्देशन दिएको थियो । पशुपति क्षेत्र विकास कोषले आयोजकलाई दिएको अनुमतिपत्रमा वनकाली क्षेत्रमा अनधिकृत रूपमा खन्ने कार्य भइरहेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

विगतमा कोषसमेतको संलग्नतामा गरिएको सर्भेमा अहिले खाल्डो खनेको स्थानमा महत्त्वपूर्ण संरचना रहेका सङ्केत मिलेको र हाल खनिएको खाल्डाहरूमा पनि सांस्कृतिक तह र संरचनाहरू प्राप्त भएको भन्दै विभागले पत्रमार्फत उक्त कार्य रोक्न भनेको थियो । साथसाथै विभागको स्वीकृति नलिएको बारेमा जवाफ पेस गर्न कोषलाई विभागले सात दिनको म्याद दिएर ताकेता समेत गरेको थियो ।

संवेदनशील क्षेत्रमा आयोजकले कोटिहोमका लागि गहिरो खाल्डो खनेको थियो । उक्त खाल्डो नियमअनुसार खन्न नपाइने भए पनि जबरजस्ती गरिएको पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

ती अधिकारीका अनुसार सुरुमा ७ फिट गहिरो खाल्डो खनिएको थियो । विभागले पत्राचार गरेर गम्भीर आपत्ति जनाएपछि थामथुम पार्न केही भाग पुरेर अहिले हवनको कार्य मात्रै गरिँदै आएको छ ।

उसो त कोषले मानव सेवा फाउन्डेसनको नाममा गत जेठमै अनुमति दिएको थियो । जसअनुसार कोषले पशुपति क्षेत्रको कैलाशडाँडाको स्थानमा रहेका बोट बिरुवाहरूलाई कुनै पनि प्रकारले क्षति नपु¥याउने किसिमले हवन कार्य गर्न दिने निर्णयसहितको पत्र दिएको देखिन्छ ।

कोषका सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखाका नि.प्रमुख रेवती रमण अधिकारीद्वारा हस्ताक्षर गरिएको अनुमतिपत्रमा भनिएको छ, ‘ उपरोक्त सम्बन्धमा त्यहाँ श्री मानव सेवा फाउन्डेसन नेपालले मिति २०८१-०४-३२ गते सम्म कोटी हवन कार्यक्रम गर्न पशुपति क्षेत्रको कैलाश डाँडाको स्थान माग गर्नुभएको निवेदन उपर कारबाही हुँदा कैलाश क्षेत्रमा रहेका बोट बिरुवाहरूलाई कुनै पनि प्रकारले क्षति नपु¥याउने किसिमले हवनको कार्य गर्न मिति २०८१-०२-१६ को निर्णयअनुसार अनुमति दिइएको व्यहोरा जानकारी गराइन्छ ।’

११ आयोजक भनिए पनि मानव सेवा फाउन्डेसनको नाममा उक्त अनुमति दिएको पत्रमा देखिन्छ । ३ लाख १५ हजार रुपैयाँ शुल्क लिएर दिइएको उक्त अनुमतिपत्रमा स्पष्ट रूपमा मापदण्ड विपरीत नहुने गरी कोटी हवन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको