जनकपुरधाम:राजासँग घाँटी जोडेकाहरूबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नु परिरहेको आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा रहेकाहरूबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको आरोप समेत लगाए ।

आजपा निकटको आम उद्योग वाणिज्य सङ्घको काठमाडौँ अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभा हलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्ता स्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताए ।

‘एमाले र कांग्रेस बनाउनेहरू आज कहाँ छन् ? दुवै पार्टी निर्माण गर्नेहरू आजको दिनमा भागी भागी हिँड्नुपरेको छ । तर विगतमा राजासँग घाटी जोडने, प्रतिगामी शक्तिहरू त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतिको सरकार भन्दै बाहिर हिँडिरहेका छन् । तर वास्तविकता त्यो होइन, यो विगतमा बदनाम भइसकेका पात्रको ठगबन्धन हो ।’

विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको इतिहास हाम्रो अगाडि रहेको बताउँदै उनले यिनीहरूकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए । यिनीहरूकै कारण खिलराज रेग्मीलाई यिनीहरूले शासन सत्ता बुझाएको मात्र नभई कांग्रेस र एमाले मिलेर ‘गण्डा संविधान’ बनाएको बताउँदै साहले आज त्यही भएर नेपाली जनताले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरू पीडित रहेको बताए । कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासँग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरू नै नेतृत्वमा रहेकाले दुवै पार्टीभित्र नेताहरू पीडित बनेको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनुप¥यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । कांग्रेस एमालेकै कारण मुलुक भ्रष्टमा नंं. १ भएको टिप्पणी गर्दै निजी कम्पनी नाफामा हुने तर सरकारकी संस्थानहरु किन घाटा व्यहोर्नुपरेको भन्दै उनले यिनीहरूले नै लुटेर खाएको आरोप लगाए ।

नेपालको उद्योगधन्दा ध्वस्त बनाउने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउनका लागि सबै भ्रष्टहरुलाई जनकारबाही हुन आवश्यक रहेको उनले बताए । तर भ्रष्टलाई कारबाही गर्ने निकाय पनि यिनीहरूकै पिछलग्गु बनेको र त्यही भ्रष्ट नेताको इसारामा नाचिरहेको साहले बताए ।

सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उद्योग वाणिज्य सङ्घको केन्द्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा सञ्जीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसैगरी सदस्यहरूमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दीपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको