जनकपुरधाम:महोत्तरी जिल्लामा विद्युत प्राधिकरणको बारम्बार लाइन काट्ने कार्यप्रति आक्रोशित व्यवसायीहरूले पूर्व–पश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका छन् । उनीहरूले पटक–पटक लाइन काट्ने र लाइन दिँदा पनि कम भोल्टेजका कारण व्यवसाय सञ्चालनमा कठिनाइ आएको गुनासो गरेका छन् ।

स्थानीय नागरिकहरूको समेत सहभागितामा भएको चक्काजाममा व्यवसायीहरूले विद्युत प्राधिकरणले नियतवश लाइन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको बताए । व्यवसायीहरूले शनिवार यो विषयमा उद्योग वाणिज्य संघ बर्दिबाससँग छलफल गर्ने जानकारी गराएका छन् । छलफलबाट उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्याको समाधान नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी स्थानीय व्यवसायी विनोद भण्डारीले दिएका छन् ।

व्यापारीहरूको मागमा ऐक्यबद्धता जनाएको जनाउँदै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले यस समस्याको समाधानका लागि उपयुक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता विद्युत प्राधिकरण औरही प्रसारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका कारण विद्युत अवरुद्ध भएको जानकारी गराए । “नियतवश हामीले लाइन काटेका छैनौं । ढल्केवर प्रसारण लाइनबाट पूर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौं,“ प्रमुख झाले भने । साथै, उनले विद्युत प्राधिकरणको तर्फबाट कुनै लोडसेडिङ नभएको पनि स्पष्ट पारे ।

महोत्तरीका व्यवसायीहरू र सर्वसाधारणहरूले यस विषयमा गम्भीर कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको