जनमतले मुख्यमन्त्री सिंहलाई सोध्यो स्पष्टीकरण

जनकपुरधाम:मधेस प्रदेशमा मुख्यमन्त्रीसहित २० सदस्यीय मन्त्रीमण्डल छ । मन्त्रीहरू धेरै बनाएको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

सरकारमा २० जना सामेल भएको भन्दै मधेस प्रदेशमा केही युवाले आन्दोलन पनि गरिरहेका छन् । ८ जिल्ला रहेको मधेसमा २० जना मन्त्री हुँदा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सप्तरीबाटै प्रतिनिधित्व गर्छन् ।

त्यसबाहेक संघीय सरकारमा पनि दुई जना मन्त्री सप्तरीबाटै छन् । यसरी संघ र प्रदेश गरी सप्तरीबाट हाल आठ जना मन्त्री छन् ।

मधेसमा जनमत पार्टीले सप्तरीबाट प्रतिनिधित्व गर्ने सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ । जनमतले सप्तरीबाटै एक जना मन्त्री र दुई जना राज्यमन्त्री पनि बनाएका हुन् । जनमतबाट चुनाव जितेका सकिल अलीलाई उद्योग तथा पर्यटनमन्त्री र शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री बनाइएको छ । यस्तै, रञ्जुकुमारी खंगलाई वन तथा वातावरण राज्यमन्त्री बनाएको छ ।

त्यस्तै एमालेले पनि सप्तरीबाट राजकुमार लेखीलाई गृह तथा सञ्चारमन्त्री बनाएको छ । कांग्रेसले पनि सप्तरीबाट मधेस प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनाएको छ ।

कांग्रेस–एमाले गठबन्धनको संघीय सरकारमा सप्तरीबाट दुई जना मन्त्री छन् । कांग्रेसले संघीय सरकारमा सप्तरीबाट तेजुलाल चौधरीलाई युवा तथा खेलकुदमन्त्री बनाएको छ भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सप्तरीबाट संघीय सरकारमा नवलकिशोर साहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको छ ।

नवल किशोर साह यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पनि मन्त्री बनेका थिए ।

तेजुलाल चौधरी पनि एक पटक युवा तथा खेलकुद राज्यमन्त्री भइसकेका थिए ।

संघ होस् या प्रदेश, जुनसुकै सरकार गठन हुँदा सप्तरीबाट मन्त्री बनेकै हुन्छन् । यसअघिको सरकारमा पनि सप्तरीबाट जनमत पार्टी महेश यादव मन्त्री बनेका थिए भने कांग्रेसबाट मो. समिम, नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने मन्त्री थिए ।

त्यसअघि सप्तरीबाट शैलेन्द्र साह, नवलकिशोर साह पनि प्रदेश सरकारमा मन्त्री थिए । सप्तरीबाट उपेन्द्र यादव, रेणु यादव, मृगेन्द्रकुमार सिंह यादव, जेपी गुप्ता, उमेश यादव, नन्दन दत्त, रामकुमार चौधरीलगायतका नेता पटकपटक मन्त्री बनेका छन् ।

मधेसमा मन्त्रीपरिषद जम्बो बनाइएको विषयलाई लिएर आलोचना भईरहेको समयमा जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए । मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ ।

बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पु¥याएकाले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको